काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म उद्योग विभागमा ७८१ उद्योग दर्ता भएका छन्। विभागमा चालू आवको पहिलो र दोस्रो त्रैमासिकको अवधिसम्म स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका हुन्। विभागमा पहिलो र दोस्रो त्रैमासिक भन्नाले साउनदेखि माघ मसान्तसम्मको अवधिमा उद्योग दर्ता भएको जनाएको छ।
साना, मझौला र ठूला उद्योगलाई वर्गीकरण गरेर दर्ता गर्ने गरिएको छ। विभागमा विदेशी लगानीका साना तथा ठूला उद्योगसम्म दर्ता हुने र स्वदेशी लगानीका ठूला उद्योगहरु मात्रै दर्ता गर्ने गरिएको छ।
विभागमा दर्ता उद्योगमध्ये ठूला उद्योग ३४ वटा, मझौला उद्योग ३५ वटा र साना उद्योग ७१२ वटा रहेका छन्। दर्ता उद्योगको कुल लगानी (प्रस्तावित) एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। दर्ता उद्योगहरुमा रोजगारीको (प्रस्तावित) ३२ हजार ६२७ जना रहेका छन्।
विदेशी लगानी स्वीकृत संख्या १६१ वटा, स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृति संख्या ३१४ वटा र जम्मा विदेशी लगानी स्वीकृत गरिएका परियोजना संख्या ४७५ वटा रहेका छन्। कुल विदेशी लगानी (प्रस्तावित) ३९ अर्ब रुपैयाँ रहेको छ। रोजगारी (प्रस्तावित विदेशी लगानी परियोजनाहरुमा) २० हजार १२२ जना रहेको छ।
औद्योगिक व्यवसाय ऐन, २०७६ का अनुसार साना उद्योगमा लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग, मझौला उद्योग १५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योग र ठूलो उद्योग ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगहरु विभागमा दर्ता हुने गरेको छ।
मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढ्दै गएको छ।
