काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षति विवरण संकलन प्रक्रिया सुरु गरेको छ।
देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ।
विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘बाढीपहिराले गरेको क्षतिको विवरण पठाउन हामीले सम्बन्धित कार्यालयलाई परिपत्र गरिसकेका छौँ। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आ–आफ्नो आयोजनाअन्तर्गत भएको क्षति विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौं।’
महानिर्देशक ई श्रेष्ठले संकलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाको योजना बनाइने बताए।
विशेषगरी इलाम र तराईमा बाढीपहिरोले खानेपानीमा क्षति पुर्याएको भन्दै उनले विवरण संकलन भएपछि प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखे।
असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू–भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्यांकी माटोढुंगाले पुरेको, मोटरपम्प डुबानमा परेको, सरसफाइ उपकरण क्षतिग्रस्तलगायत समस्या देखापरेका विभागले जनाएको छ।
गत वर्ष असोज ११ र १२ को अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा ४ अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो।