काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा जलविद्युत् प्रवर्द्धकहरुबाट ‘नियोजित अवरोध’ भएको छ ।
आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरुले पाँच दिनदेखि आयोजनाको काममा अवरोध गरेका हुन् ।
भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।
प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटरमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ ।
लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । तेस्रो खण्ड असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।
प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाका प्रवर्द्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफै पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?’
‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर, आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नु पर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ’, उनले भने ।
‘बाहिर बाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने तर भित्र भने आफै पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ ?’
पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको आयोजना निर्देशक कुवेरमणि नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत् काबेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ ।
प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नु पर्ने मिति आगामी १ साउनमा छ । आयोजनाबाट निर्धारित समयमा बिजुली उत्पादन नहुने भएको छ ।
यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा गुरुप्रसाद न्यौपानेको अरुण काबेली पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना जोडिने छ । प्राधिकरणसँग पीपीएअनुसार आयोजनाले गत वैशाख ९ गते बिजुली उत्पादन गर्नुपर्ने हो । अरुण काबेलीका अध्यक्ष न्यौपाने रैराङका पनि कार्यकारी निर्देशक हुन् ।
दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे ।
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।
काबेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।
साढे ३ अर्ब रुपैयाँ अर्थात् ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।