काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सबै सञ्चालकहरुलाई बर्खास्त गरेको छ। राष्ट्र बैंकले गत पुसमा बैंकलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालक समितिलाई निलिम्बन गरी व्यवस्थापन आफ्नो हातमा लिएर सुधारात्मक कारबाही गरिरहेको छ।
अहिले भने निलम्बित सञ्चालकहरुलाई बर्खास्त नै गरेर नयाँ सञ्चालक समिति छनौट गर्ने निर्णय गरिएको राष्ट्र बैंक स्रोत बताउँछ। ‘तीन महिनाभित्र एजिएम गराएर नयाँ सञ्चालक समिति चयन गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘राष्ट्र बैंकले नै गठन गरेको व्यवस्थापन समूहले ३ महिनाभित्रै नयाँ सञ्चालक समिति चयन गरेर व्यवस्थापन जिम्मा दिन्छ। सञ्चालक हुन सेयरधनी र इच्छुक निक्षेपकर्ताले पनि पाउँछन्।’
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको निक्षेपकर्तालाई समेत सेयरधनी बनाएर साधारण सभामा भाग लिन पाउने र सञ्चालक हुन सकेत सक्ने अधिकार दिन लागेको हो। साथै, बैंककै सेयरधनीहरु सञ्चालक समतिमा आउन नचाहेमा बाहिरबाट समेत ल्याइने राष्ट्र बैंक स्रोत बताउँछ।
राष्ट्र बैंकको गत बिहिबार बसेको सञ्चालक समतिले उक्त निर्णाय गरेर हालका सञ्चालक समितिका अध्यक्ष डा. ओम प्रकाश मिश्र, सञ्चालक समिति सदस्यहरु युवराज अधिकारी, निसार अहमद दार्जी, उशा कुमारी भण्डारी र टंक बहादुर बस्नेतलाई निलम्बन गरेको हो।
राष्ट्र बैंकको तर्फबाट बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको थियो। जसमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य छन्। समूहले २०८१ पुस ११ देखि नै उक्त बैंकको व्यवस्थापन जिम्मेवारी सम्हालिरहेको छ।