काठमाडाैं। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन हालसम्म वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था रहेको छ। यसरी श्रम स्वीकृति लिनुपूर्व अभिमूखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरिएकाे हाे।
हालसम्म उक्त तालिममा सहभागी हुने व्यक्ति राहदानी बहाक व्यक्ति भए नभएको एकीन हुने अवस्था थिएन। अँझ भन्दा वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं उपस्थित नभएर अरु नै व्यक्तिको वायोमेट्रियक प्रविष्ट गरेपनि श्रम स्वीकृति प्रणालीमा जाँच गर्ने प्रावधान थिएन। यसैबीच व्यक्ति पहिचानलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबिच गत भदाै महिनामा भएको संयुक्त बैठकको निर्णयबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याएको राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको हो।
सैद्धान्तिक रुपमा निर्णय भएपछि सफ्टवेयर प्रदायक कम्पनी र दुबै विभागका प्राविधिकहरुले आवद्धता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेपछि विभागले आधिकारिक निर्णय गरी आगामी असोज २९ गते बुधबारदेखि यो प्रणाली अनिवार्य गर्ने गरी सूचना जारी गरेको छ।
यसरी एफआईएमएस प्रणाली र NIDMIS प्रणाली अन्तरआवद्ध हुँदा तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिको तथ्यांक एकीकृत रुपमा प्राप्त गर्न सकिने, वैदेशिक रोजगारमा जाने व्यक्तिलाई गन्तव्य मुलुकको भौगोलिक, भाषिक, सांस्कृतिक तथा ट्राफिक नियमबारे सामान्य जानकारी गराउने, यात्रा पूर्वको तयारी र यात्राको क्रममा पुरा गर्नुपर्ने प्रक्रिया बारे जानकारी गराउने, वैदेशिक रोजगारीको सिलसिलामा आउन सक्ने समस्या र समाधानका उपायका बारेमा जानकारी गराउने, कामदारले गर्न हुने र गर्न नहुने काम तथा रोजगारदातासंग करार गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने,कामदारले पाउने सेवा सुबिधा एवं वित्तीय साक्षरता बारेमा जानकारी गराउने जस्ता कार्य भई वैदेशिक रोजगार अझ बढी सुरक्षित, व्यवस्थित र मर्यादित हुन जान्छ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबदेखि अभिमूखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपश्चात मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागु भएको बताएका छन्। जसको लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपूर्व राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आवद्ध भईसकेको हुनुपर्नेछ। जसको लागि सम्पूर्ण तयारी पूरा भएता पनि ३ दिनपछिदेखि मात्र अनिवार्य गरिएको महानिर्देशक भट्टराईले बताए।
भट्टराईका अनुसार पहिलो चरणमा अभिमूखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आवद्ध गरिएको र आगामी दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ परिक्षण र अध्यागमनको प्रणालीसँग आवद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिने छ।