काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई एकीकृत गर्दै जुनसुकै वालेटको क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने छ। हाल डिजिटल भुक्तानीका लागि हामीले एक वालेटबाट अर्को वालेटको क्यूआर स्कान गरेर कारोबार गर्न मिल्दैन।
अर्थात्, ईसेवा, आइएमई पे, खल्ती, सिजीपे, मोरुलगायतका वालेटको क्यूआर स्क्यानबाट एक/अर्कामा कारोबार गर्न मिल्दैन। तर, राष्ट्र बैंकले यस्ता वालेटको खुद्रा कारोबारलाई समेत एकीकृत गर्दै बैंकको जस्तै सबै वालेटको क्यूआर स्क्यान कारोबार गर्न मिल्ने व्यवस्था मिलाउन लागेको छ।
यसका लागि केन्द्रीय बैंक भुक्तानी प्रणाली विभागले ‘नेसनल पेमन्ट स्वीच (एनपीएस) एन्ड द नेसनल पेमेन्ट इकोस्टिम-मास्टर रिफेन्स् डकुमेन्ट’ तयारी सन्दर्भ दस्तावेजमा सरोकारवाला पक्षहरुसँग राय/सुझाव माग्दै आवश्यक परिवर्तन गर्न उल्लेख गरेको छ।
केन्द्रीय बैंक भुक्तानी प्रणाली विभागले तयार गरेको नेसनल पेमन्ट स्वीच एन्ड इकोस्टिमको लागि तयार दस्तावेजको नीतिगत कार्यान्यवनमा आउँदा नेपालमा हुने साना अर्थात् खुद्रा डिजिटल भुक्तानी प्रणाली/सञ्जालबीच अन्तरसञ्चालन कायम हुनेछ। यसमा एनपीएसमा आबद्ध जुनसुकै क्यूरमा पनि स्क्यान गरी भुक्तानी गर्न सकिनेछ।
बैंकबाहेक डिजिटल भुक्तानीमा आवद्ध हाल राष्ट्र बैंकबाट इजाजतपत्त प्राप्त ९ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र २३ वटा भुक्तानीप्रदायक (पीएसपी) सञ्चालनमा छन्। राष्ट्र बैंकले नेसनल पेमन्ट स्वीच कार्यान्वयनमा ल्याएर यी सबै भुक्तानी उपकरण कारोबारलाई एकीकृत गर्न लागेको हो।
डिजिटल भुक्तानी समस्या सम्बोधन गर्न र देशका भुक्तानी प्रणालीलाई एकीकृत गर्न नेशनल पेमेन्ट स्वीचले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको राष्ट्र बैंकले राखेको छ।
एनपीएसले विद्यमान भुक्तानी पूर्वाधारको एकीकरण, अन्तरसञ्चालनीय खुद्रा भुक्तानी प्रणाली (कार्ड र गैर–कार्ड दुवै) को कार्यान्वयन, सीमापारमा अन्तरसञ्चालन सुनिश्चित गर्ने सबै घरेलु डिजिटल कारोबार समस्या समाधानका सुविधा दिइने प्रतिवेदनमा उल्लेख छ।
नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र गतिमा विस्तार भइरहे पनि यसले अझै पनि केही चुनौती सामना गरिरहेको हुँदा डिजिटल भुक्तानीमा एकीकृत पूर्वाधार आवश्यक छ।
डिजिटल भुक्तानी समस्या सम्बोधन गर्न र देशका भुक्तानी प्रणालीलाई एकीकृत गर्न नेशनल पेमेन्ट स्वीचले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको राष्ट्र बैंकले राखेको छ। राष्ट्र बैंकले हाल नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मार्फत एनपीएस स्थापना र सञ्चालन गर्ने निर्णय गरेको छ।
एनपीएसले नेपालका खुद्रा भुक्तानीका लागि केन्द्रीय स्विचिङ पूर्वाधारको रूपमा काम गर्नेछ। यसले भिन्न भिन्न नेटवर्कलाई आफ्नो स्वीचमा आबद्ध गराएर सुविधा दिनेछ। एनसिएचएलले भुक्तानी प्रणालीका ‘क्लोज्ड-लुप’ नेटवर्क/स्किम र भुक्तानी पूर्वाधारबीच सहज रुपमा अन्तरआबद्धता गराउने गरी आफ्नो कार्ड र क्यूआर निर्माण गरी सञ्चालनमा ल्याउनेछ।
यसमा हाल एनसीएचएलले ‘नेपाल पे क्यूआर, नेपाल पे कार्ड’ (डेबिड, क्रेडिट र प्रिपेड कार्ड) निर्माण गरिसकेको छ। यसमा अधिकांश भुक्तानी सेवा प्रणाली (पीएसओ) आबद्ध भइसकेका छन्।
एपीएसले पीएसओ र पीएसपीबीच अन्तरसञ्चालन गर्नेछ, जसले ग्राहकले आफ्नो भुक्तानी उपकरण (मोबाइल वालेट, क्यूआर कोड, कार्ड) जुनसुकै भए पनि सञ्चालको भए पनि सहजै प्रयोग गर्न सक्नेछन्।
यसले विभिन्न भुक्तानी प्रणालीबीच अन्तरआवद्धता कायम गरेर सबै प्रयोगकर्ता फन्ड ट्रान्सफर, बिल भुक्तानी र डिजिटल भुक्तानी प्राप्त गर्नेजस्ता डिजिटल कारोबारमा एकीकृत, छिटो र प्रभावकारी भुक्तानी अनुभव सिर्जना गर्ने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ।
भुक्तानी प्रणालीका विभिन्न उपकरण सञ्चालक वा नेटवर्कबाट कार्यान्वयन गरिएका विद्यमान भुक्तानी पूर्वाधारलाई एकीकृत र उपयोग मुख्य उद्देश्य रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, नेपालभित्र कार्ड र गैरकार्ड दुवै प्रकारका खुद्रा भुक्तानी प्रणालीलाई समेट्ने राष्ट्रिय भुक्तानी इकोसिस्टम कार्यान्वयन गर्न खोजिएको प्रतिवेदनमा उल्लेख छ।