काठमाडौं। लोन पोर्टफोलियो रिभ्यूका लागि छनोटमा परेको बंगलादेशको फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० बैंकमा स्थलगत अनुगमन सुरु गरेको छ।
हाउल्याडरले छनोट गरेको नेपाली चार्टर्ड एकाउन्टेन्ट र राष्ट्र बैंकका प्रतिनिधिसहितको टोलीले १० वटै बैंकमा एकैसाथ काम सुरु गरेको हो।
बंगलादेशी टोलीले तिहारअघि १० वटै बैंकको नीति, पोलिसी तथा तथ्यांक संकलन गर्नेछ भने छठपछि स्थलगत विश्लेषण र अनुगमन गर्ने बताइएको छ।
बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडरबाट दुई जना, राष्ट्र बैंकका प्रतिनिधि र नेपाली चार्टर्ड एकाउन्टेन्टसहितको टोलीले १० वटै बैंकमा कर्जा नीतिलगायत आवश्यक विवरण अध्ययन सुरु गरेको हो। तिहारपछि भने तोकिएका चार जना प्रतिनिधिले हरेक बैंकमा आन्तरिक निरीक्षण गर्नेछ।
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा सम्झौता गर्दा १० ठूला वाणिज्य बैंकको लोन फोर्टफोलियो रिभ्यूसर्तसहित राष्ट्र बैंकले बंगलादेशी फर्म छनोट गरेको हो।
बंगलादेशी कम्पनीको टोली असोज २५ मा काठमाडौं आएको थियो। बंगलादेशी कम्पनीले ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा लेखापरीक्षण जिम्मा पाएको छ।
गत आर्थिक वर्षमै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक छनोटका लागि बोलपत्र आह्वान गरेको थियो। त्यस क्रममा भारतको केपीएमजी कम्पनी प्राविधिक रूपमा योग्य ठहरिए पनि आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐनविपरीत हुने निष्कर्ष आएपछि प्रक्रिया रोकिएको थियो। पछि नयाँ बोलपत्र आह्वान गरेर पुनः मूल्यांकन गरिँदा हावलदार युनुस एन्ड कम्पनी प्राविधिक र आर्थिक दुवै पक्षबाट योग्य ठहरिएपछि सम्झौता गरिएको हो।
कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको कर्जा लगानीको गुणस्तर परीक्षण गर्नेछ। यस क्रममा कम्पनीले बैंकको कर्जा फाँट, जोखिम व्यवस्थापन प्रणाली, कर्जा वर्गीकरण, प्रोभिजन व्यवस्था, पुनर्संरचना नीति, कर्जा असुली र आन्तरिक लेखा नियन्त्रणका विषयमा विस्तृत अध्ययन गर्नेछ। अध्ययनका आधारमा तयार हुने प्रतिवेदन राष्ट्र बैंकमा बुझाइनेछ।
राष्ट्र बैंकका अनुसार परीक्षणका लागि कर्जा आधारमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, प्रभु, एनएमबी, प्राइम कमर्सियल, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन र सिद्धार्थ बैंक रहने सम्भावना छ।