काठमाडौं। पर्यटकीय सिजनकै मुखमा भएको जेनजी आन्दोलनपछि पर्यटन क्षेत्र सुस्ताएको छ। वर्षायाम अन्त्यसँगै सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु भएको मानिन्छ।
पदयात्राका लागि विदेशी पर्यटकहरु आउने अपेक्षासहित उत्साहमा रहेका पर्यटन व्यवसायीहरु यो सिजनमा नराम्रोसँग थलामा परेका छन्। पर्यटकीय सिजन सुरु भएकै बेला भएको जेनजी आन्दोलनकाले पर्यटन क्षेत्र थलामा पर्दा त्यसको प्रभाव हेलिकोप्टर कम्पनीहरुमा पनि परेको छ।
वायुसेवा सञ्चालक संघका वरिष्ठ उपाध्यक्ष एवंम कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेले विगत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले व्यापार घटेको जानकारी दिए। ‘जेनजी आन्दोलनपछि धेरै टुर अपरेटरहरुले नेपालको बुकिङ रद्द गरेकाले हेलिकोप्टरको व्यापार ५० प्रतिशतले घटेको हो,’ प्रबन्ध निर्देशक पाण्डेले भने, ‘अहिलेकै स्थिति रहिरहे पर्यटन क्षेत्रमा भयावह आउन सक्छ।’
आन्दोलनपछि बढेको त्रास अहिले न्यूनीकरण भइसकेको अवस्थामा पनि पर्यटन क्षेत्रले लय समात्न नसक्दा व्यवसाय धरासायी बन्न लागिरहेको व्यवसायीहरुको भनाइ छ।
हिमाली क्षेत्रमा पदयात्रामा निस्कने धेरै पर्यटकहरुले हेलिकोप्टर प्रयोग गर्ने गर्दा सिजनको बेला भ्याइनभ्याई हुने गरेकोमा यो वर्षको पहिलो सिजनमै कम्पनीहरुको उडान ५० प्रतिशतले घटेको व्यवसायीहरुको भनाइ छ।
विशेष गरेर भारतीयसँगै युरोप र अमेरिकाबाट आउने पर्यटकहरुले हेलिकोप्टर बढी मात्रामा प्रयोग गर्ने गरेका थिए।
हेली एभरेष्टका अध्यक्ष फुर गेल्जे शेर्पाले विगतको तुलनामा यो वर्षको पहिलो सिजनमा हेलिकोप्टरको बिजेनश घटेको बताए। नेपाल आउन थालेका विदेशी पर्यटकहरुले धमाधम रद्द गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव हेलिकोप्टर क्षेत्रमा पनि परेको अध्यक्ष शेर्पाले जानकारी दिए। ‘गत वर्ष सिजनमा हेलिकोप्टरलाई भ्याइनभ्याई हुने गरेको थियो,’ अध्यक्ष शेर्पाले भने, ‘यो वर्ष त्यति धेरै भिडभाड देखिएको छैन, व्यापार पनि घटेको छ।’
विशेष गरेर भारतीयसँगै युरोप र अमेरिकाबाट आउने पर्यटकहरुले हेलिकोप्टर बढी मात्रामा प्रयोग गर्ने गरेका थिए। तर, यो वर्षको पहिलो सिजनमा सबैभन्दा बढी बुकिङ रद्द गर्ने नै भारतीय पर्यटकहरु रहेकाले पनि त्यसको प्रभाव हेलिकोप्टर क्षेत्रमा परेको व्यवसायीहरुको भनाइ छ।
भारतीयहरुको ठूलो संख्याले अन्तिम समयमा नेपाल आउने कार्यक्रम रद्द गरेपछि सेप्टेम्बर महिनाभर पोखराबाट जोमसोम उडानसमेत रोकिएको थियो। पोखराबाट जोमसोममा सेप्टेम्बरदेखि तारा र समिट एयरले उडान गर्ने गरेको थियो।
विकराल हुँदै व्यवसाय
पर्यटकको संख्या निरन्तर घट्दै जानु र हेलिकोप्टर कम्पनीको संख्या बढ्दै जाँदा सञ्चालन खर्च धान्न मुस्किल हुन थालेको विश्लेषण हुन थालेको छ। अहिले तीन दर्जनभन्दा बढी हेलिकोप्टहरु सञ्चालनमा रहेको छ। पर्यटकको संख्या दैनिक रुपमा घट्दा व्यवसायीहरुले ऋणको सावाँ र ब्याज तिर्न मुस्किल हुने स्थितिमा पुग्न थालेको एक व्यवसायीले जानकारी दिए।
नेपाल पर्यटन बोर्डले सार्वजनिक अपिल गर्दै ती मुलुकका सरकारसँग कुटनीतिक पहल गरी ट्राभल एडभाइजरी हटाउन पहल गरिदिन अनुरोध गरिसकेको छ।
‘अहिले कर्मचारीको तलब र बैंकको ब्याज्समेत तिर्न मुस्किल हुन थालेको छ’, ती व्यवसायीले भने, ‘आन्दोलनपछि पर्यटन क्षेत्रले रफ्तार लिन्छ भन्ने अपेक्षा थियो। तर, अहिलेसम्म सुधार हुने स्थिति देखिँदैन।’
ट्राभल एडभाइजरी हटाउन कुटनीतिक पहल आवश्यक
जेनजी आन्दोलनपछि भएको विध्वंसपछि छिमेकी मुलुक भारतसहित अमेरिका, क्यानाडालगायतका मुलुकले आफ्ना नागरिकहरुलाई अत्यावश्यक कामबाहेक नेपालमा नजान निर्देशन जारी गर्यो। ती मुलुकले ट्राभल एडभाइजरी जारी गरेपछि घुम्न निस्कन थालेका पर्यटकहरुले धमधाम रद्द गरेका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक अपिल गर्दै ती मुलुकका सरकारसँग कुटनीतिक पहल गरी ट्राभल एडभाइजरी हटाउन पहल गरिदिन अनुरोध गरिसकेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल शान्त छ भन्ने सन्देश विश्व बजारमा पुर्याउन आवश्यक रहेको बताए।