काठमाडौं । ३ ओटा जलविद्युत कम्पनीहरु साधारण सेयर (आईपीओ) निष्कासन गर्न विद्युत नियमन आयोगमा पुगेका छन् । लिवर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र युनाइटेड हेभी मादी हाइड्रोपावरले ८२ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८२ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न आयोगमा पुगेका हुन् ।
जसअनुसार ग्रिनलाइफले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता, लिवर्टीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता र युनाइटेको १० करोड ५० लाख रुपैयाँको १० लाख ५० हजार कित्ता निष्कासन गर्न लागेका हुन् ।
आयोगले स्वीकृति दिएपछि कम्पनीहरु निष्कासनका लागि निवदेन दिन नेपाल धितोपत्र बोर्ड जानेछन् । आयोगले स्वीकृति दिएपछि मात्र बोर्डलेले अनुमति दिने छ । आयोगले ल्याएको विद्युत सेयर सार्वजनिक निष्कासन सम्बन्धित निर्देशिकापछि ३ ओटा कम्पनी पुगेका हुन ।
आयोजनाको प्रगति हेरेर आईपीओ निष्कासन गर्न दिने आयोगका सदस्य रामकृष्ण खतिवडाले बताए । ५० प्रतिशत भौतिक प्रगति भएका आयोजनालाई मात्र आईपीओ निष्कासन गर्न अनुमति दिने उनले स्पष्टपारे । निर्देशिका जारी भएपछि धमाधम कम्पनीहरु आईपीओ निष्कासन गर्न आउन थालेको खतिवडाको भनाई छ ।
जलविद्युत कम्पनीले थप निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासन गरेर बैङ्कको कर्जा तिर्न र दोस्रो संस्थाको सेयर खरिद गर्न नपाउने भएका छन ।
आयोगले ल्याएको विद्युत सेयर सार्वजनिक निष्कासन सम्बन्धित निर्देशिकाले ऋण तिर्न र सेयरमा लगानी गर्नका लागि एफपीओ र हकप्रद सेयर निष्कासन गर्न बन्देज लगाएको हो ।
जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको दुई वर्षपछि मात्र एफपीओ र हकप्रद सेयर निष्कासन गर्न पाउने भएका छन । आईपीओ निष्कासनको रकम परिचालनका लागि स्पष्ट रणनीति तथा योजना साधारणसभाबाट पारित हुनुपर्ने, संस्थापकले कवुल गरेको सबै रकम भुत्तानी र परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।