काठमाडौं । चैतभित्र किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने नेपाल राष्ट्र बैंकको निर्देशनले बैंकहरुले करोडौं रुपैयाँ आम्दानी गुमाउने भएका छन । किस्ता तिर्न आउने सबै ऋणीलाई १० प्रतिशत ब्याज छुट दिएपछि बैंकहरुको नाफामा धक्का लाग्ने देखिएको हो ।
कोरना संक्रमण फैलिन नदिन सरकारले देश बन्द (लकडाउन) गरेपछि उद्योग व्यवसाय ठप्प भएका छन । लकडाउनले गर्दा उद्योगी तथा व्यवसायीले कर्जाको किस्ता तिर्न नसक्ने अवस्था आएपछि राष्ट्र बैंकले आगामी असारसम्म समय दिएको छ ।
केन्द्रीय बैंकले चैत १६ गते जारी गरेको निर्देशनको बुँदा नम्बर ६ मा चैतभित्र किस्ता बुझाउने ऋणीलाई १० प्रतिशत ब्याज छुट दिन भनेको छ ।
केन्द्रीय बैंकको निर्देशनले एउटा बैंकको आम्दानी न्युनतम ४ करोडदेखि ६ करोड रुपैयाँसम्म घट्न सक्ने संभावना रहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल बताउँछन ।
ब्याज छुटको दायित्व बैंक आफैले व्योहर्नुपर्ने उनले जानकारी दिए । ब्याजमा १० प्रतिशत छुट पाउने भएपछि उद्योगी, व्यवसायी र साना व्यापारीले अहिले धमाधम किस्ता तिर्न थालेको उनले बताए ।
‘कति ऋणीले किस्ता बुझाउछन त्यसपछि मात्र ब्याज छुटको यर्थाथ जानकारी दिन सकिने छ’ दाहालले भने ‘यसो अनुमान गर्दा एउटा बैंकले ६ करोड रुपैयाँसम्म आम्दानी गुमाउने देखिएको छ ।’ किस्ता बुझाउने म्याद आइतबारसम्म भएकाले यसपछि मात्र यथार्थ विवरण आउने उनको भनाई छ ।
अध्यक्ष दाहालको भनाईलाई आधार मान्दा ब्याज छुटका कारण वाणिज्य बैंकहरुले झण्डै सवा अर्ब रुपैयाँ आम्दानी गुमाउने देखिन्छ । ‘राष्ट्र बैंकले निर्देशन पालना गर्नुपर्दा करोडौं रुपैयाँ आम्दानी गुमाउनु पर्ने अवस्था आएको छ’ उनले भने ।
अर्थतन्त्र सामान्य अवस्था रहँदा चालु आर्थिक वर्षको ६ महिनामा समग्रमा ६ प्रतिशत मात्र नाफा बढाएका छ । लकडाउनपछि बैंकहरुले कर्जा विस्तार र अन्य व्यवसाय गर्न नपाएकाले नाफामा अझै संकुचन आउने देखिएको छ ।
उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाको किस्ता तिर्न नसकेपछि आगामी असारसम्मको समय दिएको छ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनको बुँदा नम्बर ५ मा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक, त्रैमासिक किस्ताको (क्रेडिट कार्डको समेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । सो किस्ताको हकमा कुनै किसिमका हर्जाना लाग्ने छैन भन्ने उल्लेख छ ।
राष्ट्र बैंकले बैंकहरुलाई पनि सहुलियत दिएको छ । केन्द्रीय बैंकल बैंकदर १ प्रतिशत घटाएर ५ प्रतिशत कायम गरेको छ । अनिवार्य नगद अनुपात (सीआरआर) ४ बाट ३ प्रतिशतमा झारेको छ । सीआरआर १ प्रतिशत घट्दा बजारमा थप ३५ अर्ब रुपैयाँ तरलता प्रवाह भएको छ ।
कोरोना भाइरसका कारण उद्योग व्यवसाय र वित्तीय क्षेत्रमा नकरात्मक प्रभाव पारेपछि यसलाई उद्धार गर्न केन्द्रीय बैंकले राहातको योजना ल्याएको हो ।
राष्ट्र बैंकले सहुलियतको प्याकेज ल्याउँदा त्यसले पनि नपुगेर उद्योगी तथा व्यवसायीहरुले थप राहातको दिन सरकारसंग माग गरेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर थप राहातको प्याकेज ल्याउन माग गरेको छ ।
सस्तियो ब्याज
वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन । बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याजदर एकदेखि डेढ प्रतिशत विन्दुसम्म घटाएको अध्यक्ष दाहालले जानकारी दिए ।
आधारदर घटेकाले बैंकहरुले ब्याजदर कम गरेको उनको भनाई छ । उनले कर्जालाई अझै सस्तो बनाउन ब्याजदर घटाएको स्पष्टपारे । निक्षेपको घटेपछि कर्जा पनि सस्तिने भएको छ ।
कर्जाको माग अधिक बढेर लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को संकट आएपछि यसलाई स्थायित्व दिन राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले ब्याजदरमा भद्रसहमति गरेका थिए । बैंकहरुबीचको भद्रसहमतिले ब्याजदरमा स्थायित्व आएको छ ।
बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज १ प्रतिशत घटाएर ८.७५ र संस्थागत निक्षेपकर्ताको डेढ प्रतिशत घटाएका हुन । ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका बैंकहरुले अब संस्थागत निक्षेपकर्तालाई ८ प्रतिशत र नवीकरण निक्षेपको ब्याजदर ८ प्रतिशत ब्याज दिने भएका छन ।साधार बचत खाताको ब्याजदर घटाएर ५.५ प्रतिशतमा झारिएको छ । यसअघि साढे ६ प्रतिशत थियो ।