काठमाडौं। जेनजी आन्दोलनपछि सुस्ताएको पोखरा र सौराहालगायत पर्यटन बजारले विस्तारै लय समात्न थालेको छ। जेनजी आन्दोलनका क्रममा भएको विध्वंसले त्रसित भएपछि नेपाल आउन तयार भएका अधिकांश विदेशी पर्यटकहरुले नेपालको बुकिङ रद्द गरेको थियो।
विदेशीहरु नआएपछि नेपालको प्रमुख पर्यटकीय स्थल पोखरा, सौराहालगायतका स्थानमा सुनसान जस्तै थियो। तर, दसैं र तिहारबीच भएको बिदालाई सदुपयोग गर्दै नेपाली घुम्न निस्कन थालेपछि पर्यटकीय स्थलमा चहपहल सुरु भएको छ। अहिले पोखरा र सौराहामा आन्तरिक पर्यटकले गुल्जार भएको छ।
लामो समयपछि दसैं र तिहारबीच सौराहाका अधिकांश होटल भरिभराउ भएको जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए। ‘सम्भवत यो वर्षकै पहिलो पटक हुनुपर्छ सौराहाका अधिकांश होटल भरिभराउ छन्,’ उनले भने, ‘होटलमा आउने सबैभन्दा बढी स्वदेशीहरु छन्।’
दसैंलगत्तै भएको मौसम खराबीका कारण सरकारले अत्यावश्यकबाहेक अन्य काममा यात्रा नगर्न निर्देशन जारी गर्दा केही पर्यटकहरु नआए पनि अहिले अवस्था सामान्य भएपछि एकसाथ धेरै नेपालीहरु घुम्न निस्किएको हुन सक्ने उनको अनुमान छ।
मुस्ताङ जाने र त्यहाँबाट आउने पर्यटकहरुको बसाइँ गन्तव्य पोखरा बनेकाले पनि अहिले धेरै चहलपहल बढेको व्यवसायीहरुको भनाइ छ।
दसैं र तिहारको बीचमा बालबालिकाहरुको बिदा हुँदा परिवारसहित घुम्नेहरुको संख्यासमेत वृद्धि हुँदा पर्यटकीय क्षेत्रका होटल र रिसोर्टहरु भरिभराउ भइरहेको व्यवसायीहरुको भनाइ छ।
पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष एवं होटल रानिवान आर्केटका सञ्चालक हरि भुजेलले पछिल्लो एक साताको बीचमा विदेशीभन्दा स्वदेशी पर्यटकहरुको चहपहल बढिरहेको बताए।
‘विदेशी नआउँदा पनि स्वदेशीले पर्यटन क्षेत्र धानिन्छ भन्ने यो गतिलो उदाहरण हुन सक्छ,’ प्रथम उपाध्यक्ष भुजेलले भने, ‘अन्नपूर्ण बेस क्याममा ट्रेकमा जाने होस् या होटलको बारमा बसेर रमाउने हुन्, ती सबै नेपालीहरु नै हुन थालेको छ।’
अहिले पोखरा हुँदै धेरै नेपालीहरु मुस्ताङ जान थालेका छन्। मुस्ताङ जाने र त्यहाँबाट आउने पर्यटकहरुको बसाइँ गन्तव्य पोखरा बनेकाले पनि अहिले धेरै चहलपहल बढेको व्यवसायीहरुको भनाइ छ। पहिलाका तुलनामा अहिले सडक मार्गसमेत राम्रो भएकाले निजी सवारी साधन लिएर वा सार्वजनिक यातायातमा समेत पर्यटकहरु पोखरा पुग्न थालेका छन्।
अरु समयको तुलनामा यो समय पोखरा अझै धेरै खुल्ने र माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न पाउने भएकाले पनि धेरै पर्यटकहरुको रोजाइँ पोखरा पर्ने गरेको व्यवसायीहरुको भनाइ छ।