काठमाडौं। प्रभु ग्रुप्सको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी र केयर रेटिङ नेपाल लिमिटेडबीच क्रेडिट रेटिङ सम्झौता भएको छ। कम्पनीले आगामी पुस १९ मा हुने वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने तयारी गरेसँगै क्रेडिट रेटिङ सम्झौता गरेको हो।
सम्झौतामा प्रभु स्टील्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सीताराम धिमाल र केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्दप्रकाश झाले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै कम्पनी आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिनेछ।
प्रभु स्टील्ससमेतको लगानीमा २५.४ मेवाको सुपर आँखुखोला र ३७ मेवाको माथिल्लो म्याग्दी गरी दुईवटा हाइड्रो पावर परियोजना निर्माण भइरहेका छन्। कम्पनीले सोलुखुम्बुमा दोभान खोला जलविद्युत् परियोजना ४.२ मेवा र मध्यइन्द्रावती खोला ६.६५ मेवा जलविद्युत् परियोजना सिन्धुपाल्चोकमा निर्माण गर्दै छ।
कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत् विकासले विभिन्न जिल्लामा ३ वटा क्रमशः इन्द्रावती खोला ९.३२५ मेवा जलविद्युत् परियोजना, राहगाढ ९.६२ मेवा जलविद्युत् परियोजना, लिदिन खोला ४.१२५ मेवा जलविद्युत् परियोजना निर्माण सुरु गरेको जनाएको छ।
कम्पनीको मुख्य लगानी रहेको सिद्धार्थ केबलकार २०८१ देखि बुटवलमा सञ्चालित छ। कम्पनीले माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा ३७ मेवामा ४० प्रतिशत सेयर लगानी गरेको छ।
आईपीओबाट संकलन हुने रकमले सहायक कम्पनीका जलविद्युत् आयोजनामा लगानी गर्ने र निर्माणाधीन परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत धिमालले बताए।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भइसकेको छ। कम्पनीले गत असोज ९ को विशेष साधारणसभाबाट २०८२ असोज १ सम्म कायम सेयरधनीका लागि १ः१.३४ का दरले हकप्रद सेयर निष्कासन निर्णय गरी आउँदो कात्तिक ९ गतेबाट हकप्रद सेयर निष्कासन खुलाउने सूचना प्रकाशितसमेत गरिसकेको छ।