काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा लगानीकर्ताको असाधारण आकर्षण देखिएको छ। सेयर निष्कासन भएको पहिलो दिनमै ४ घण्टाभित्र मागभन्दा ४ गुणा बढी आवेदन परेको हो।
रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि पुस ११ गतेसम्म आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ खुलाएकाे छ। तर, आइपीओ निष्काशन भएको पहिलो दिनमै सर्वसाधारणले मागभन्दा ४.२१ गुणा बढी आवेदन दिएका हुन्।
कम्पनीको प्रतिसेयर मूल्य ८२० रूपैयाँ ८० पैसा रहेको छ। लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने छ। लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पुस ७ गते साेमबार दिउँसो २ बजेसम्म आईपीओमा ३९ लाख कित्ता आवेदन परेको छ। यद्यपि, कम्पनीको आईपीओमा १० बजे २० मिनेटमै मागअनुसारको आवेदन प्राप्त भई ‘ओभर सस्क्राइभ’ अर्थात् मागभन्दा बढी आवेदन परिसकेको थियो। यो तथ्यांकले रिलायन्स स्पिनिङ मिल्सको सेयरप्रति लगानीकर्ताको उच्च उत्साह रहेको पुष्टि गर्दछ।
सेयर निष्कासन भएको पहिलो दिनमै ४ घण्टाभित्र मागभन्दा ४ गुणा बढी आवेदन परेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको हो। पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँड भइसकेको छ।
सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुलाइएको हो। वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँड भइसकेको छ।
बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको यो कम्पनीको सेयर प्राप्त गर्न लगानीकर्ताबीच ठूलो प्रतिस्पर्धा देखिएको छ।
नेपालको धागो उत्पादन क्षेत्रमा ठूलो हिस्सा ओगटेको र स्थापित उद्योग भएकाले पनि रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई लगानीकर्ताले निकै चासोका साथ हेरेका थिए। बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको यो कम्पनीको सेयर प्राप्त गर्न लगानीकर्ताबीच ठूलो प्रतिस्पर्धा देखिएको छ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म तोकिएको छ। यद्यपि, पहिलो दिनको पहिलो घण्टामै मागभन्दा बढी आवेदन परिसकेकाले यसमा आवेदन दिनेको संख्या अझै उल्लेख्य रूपमा बढ्ने निश्चित छ।
पछिल्लो समय सेयर बजारमा नयाँ आईपीओको आगमन भइरहँदा रिलायन्स स्पिनिङ मिल्सको यो उत्साहजनक सुरुवातले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ मार्फत लगानीकर्ताले यसमा आवेदन दिन सक्नेछन्।