काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले खाताबाट धमाधम पैसा तान्न थालेपछि उद्योगीलाई आफ्ना कर्मचारीलाई तलब दिनै सकस परेको छ ।
बैंकहरुले खातामा भएको पैसाबाट ब्याज र किस्ता तिर्नुपर्ने रकम बराबरको पैसा झिकेपछि कर्मचारीलाई तलब खुवाउन सकस परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर तीनका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।
बैंकले चैत मसान्तमा तिर्नुपर्ने साँवा ब्याज उद्योगीको खातामा भएको पैसाबाट तानिरहेका छन् । उनीहरुले आफूखुसी बैंकमा भएको पैसा झिकिदिँदा उद्योग तथा कर्पोरेट हाउसमा काम गर्ने कामदारालाई सेवा सुविधा दिन सकस परेको उनको भनाइ छ ।
राष्ट्र बैंकले सबैखाले ब्याज तथा किस्ता तिर्ने समय असार मसान्तसम्म पुर्याए पनि बैंकले उक्त निर्देशन विरुद्ध गएका हुन् । अहिले वाणिज्य बैंकहरुले धमाधम खातामा रहेको पैसा झिकिरहेका छन् ।
ब्याजमा १० प्रतिशत छुटले करोडौं आम्दानी गुमाउँदै बैंकहरु, नाफामा धक्का लाग्ने
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निर्देशनले प्रस्ट नबोलेकाले बैंकले खाताबाट पैसा झिकेर साँवा ब्याज मिलान गरेको हुनसक्ने बताए । तिर्न नसक्नेका लागि असार मसान्तसम्मको समयसीमा पुर्याएको बताए ।
उनका अनुसार पैसा झिक्दा कामदारलाई तलब नै खुवाउन नसक्ने अवस्था आएका पुनः बैंकले आवश्यक व्यवस्था मिलाउनुपर्छ ।
‘अहिले मुलुक लकडाउनमा छ । सम्पूर्ण उद्योगधन्दा बन्द छन् । लकडाउन खुल्ने बित्तिकै कच्चा पदार्थ पठाउने पाटीलाई तत्काल भुक्तानी दिनुपर्छ । कर्मचारीलाई २ गते चैत महिनाको तलब दिनुपर्छ । अनि बैंकले अहिले खातामा पैसा देखेर तानिहाल्ने गर्न मिल्छ ?’ उद्योगी श्रेष्ठले भने, ‘आज बैंकले पैसा झिकेपछि हामीले कसरी भोलि आफ्ना कर्मचारीलाई तलब सुविधा दिने ?’
बैंकहरुको यस्तोखाले रबैयाप्रति केन्द्रीय बैंक मौन बस्न नहुने उद्योगीहरुले बताएका छन् । यस्तो परिस्थितिमा पनि बैंकलाई नाफा चाहिएको छ । अन्य सबै क्षेत्र विगत एक महिनादेखि ठप्प हुँदा पनि बैंकलाई नाफा नकमाइ नहुने हुन्छ ? श्रेष्ठले प्रश्न गरे ।
‘सरकारले दैनिक अर्बौ रुपैयाँ राजस्व गुमाएको छ । उद्योगीले दैनिक करोडौं क्षति भोगेका छन्,’ उनले भने, ‘तर, बैंकले मुलुक गम्भीर संकटमा पर्दा पनि नाफा नै कमाउनुपर्छ ।’ एकातिर उद्योगीको खातामा भएको पैसा आफूखुसी तानेको छ भने अर्कोतिर ऋण ब्याज पनि जेठबाट मात्रै घटाउने निर्णय गरेको छ । बैकले मनलाग्दी निर्णय गर्दा पनि केन्द्रीय बैंकले कुनै हस्तक्षेप नगरेको उद्योगीले आरोप लगाएका छन् ।
नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले तिर्न नसक्नेलाई मात्र असारसम्मको म्याद दिनुपर्नेमा सबैले पाएको बताए । तिर्न चाहेकाले अहिले धमाधम किस्ता बुझाएर १० प्रतिशत ब्याज छुट लिइरहेको उनले जानकारी दिए ।
केन्द्रीय बैंकको निर्देशन मान्नुपर्ने भएकाले किस्ता तिर्न दवाव नदिएको उनले दावी गरे । धेरै ऋणीहरु ब्याज छुटको लोभमा किस्ता तिरिरहेको उनको भनाई छ ।