काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका सम्पत्तिको क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बिमा दाबी परेको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज २९ गतेसम्म २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी परेको हो।
१४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा कुल ३ हजार १६६ वटा बिमा दाबी परेको प्राधिकरणले जनाएको छ। बिमा दाबीमध्ये कम्पनीहरुले २ अर्ब १ करोड ९८ लाख बिमितहरूलाई भुक्तानी गरेका छन्।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको प्राधिकरणले जनाएको छ। हालसम्ममा सर्भेयरहरूले ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बिमकहरूबाट प्राप्त भएको प्राधिकरणको भनाइ छ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बिमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको छ। पुनर्बीमा दाबी रकम १५ अर्ब ७६ करोड ४३ लाख रहेको पुनर्बीमा कम्पनीले जानकारी दिएका छन्। पुनर्बीमा कम्पनीले हालसम्ममा १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बिमा कम्पनीहरुलाई दिएको प्राधिकरणले जनाएको छ।
सम्पत्ति बिमाको मात्र साढे १ अर्ब भन्दा धेरै भुक्तानी
तथ्यांकअनुसार सबैभन्दा धेरै बिमा दाबी सम्पत्ति बीमामा परेको छ। प्राधिकरणको तथ्यांकअनुसार असोज २९ गतेसम्म सम्पत्ति बिमामा ६ सय ७३ वटा निवेदनमा १९ अर्ब २ करोड २१ लाख ६२ हजार रुपैयाँको दाबी परेको छ जसमध्ये १ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी भुक्तानी भइसकेको छ।
संख्यात्मक रुपमा मोटर बिमाको दाबी धेरै परे पनि यसको दाबी रकम भने सम्पत्ति बिमाको तुलनामा कम छ। मोटर बिमामा २ हजार २ सय ५९ वटा निवेदनबाट ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको दावी परेकोमा ३६ करोड २६ लाख रुपैयाँ बराबरको भुक्तानी भइसकेको छ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १ सय ८२ वटा निवेदनबाट ३३ करोड १८ लाख रुपैयाँको बिमा दाबी परेकोमा ३ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बिमामा १३ वटा निवेदनबाट ३ करोड ६३ लाख रुपैयाँ तथा अन्य बिमामा ३९ वटा निवेदनबाट ३६ करोड ८६ लाख रुपैयाँ बिमा दाबी परेकोमा २२ लाख ८२ हजार रुपैयाँ भुक्तानी भएको छ।
