काठमाडौं। पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को शरदऋतुमा १३२३ जनाले हिमाल आरोहण गर्ने भएका छन्। सन् २०२४ हिमाल आरोहण अनुमति लिने समूह र आरोहीको संख्या केही बढेको हो।
जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा असर परिरहेको बताए पनि हिमाल आरोहणको संख्यामा गिरावट नआएको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार यस वर्षको शरद ऋतुमा हिमाल आरोहण गर्न १५७ समूहका १३२३ आरोहीले अनुमति लिएका हुन्। यीमध्ये ३०८ महिला छन्। सन् २०२३ मा १३२६ र सन् २०२४ मा १२८० ले हिमाल आरोहणका लागि अनुमति लिएका थिए।
विभागले यस वर्ष ५४ हिमाल आरोहण अनुमति जारी गरेको छ। यसमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण गर्न ३७४ ले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ।
विभागका अनुसार अमादब्लम हिमाल आरोहण गर्न २६ समूहका ३४० आरोहीले अनुमति लिएका छन्।
यस वर्ष हिमाल आरोहणका लागि सबभन्दा बढी चीनका १०७, नेपालका ८३, जर्मनीका १०४, फ्रान्सका १०१, बेलायतका ९९, अमेरिकाका ९६, रुसका ८७, पोल्यान्डका ६८, क्यानडा र अष्ट्रेलियाका ३५÷३५, स्वीटजरल्यान्डका ३४ आरोहीले अनुमति लिएका छन्।