काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाडको रुपमा तिहारलाई लिइन्छ। दाजु बहिनी र दिदी भाइबीचको सम्बन्धलाई लिएर मानिने यो चाडलाई उज्यालो पर्वको रुपमा मानिन्छ। पाँच दिन लामो उज्यालोको पर्व तिहारले देशभर उत्सवको रौनक ल्याउँछ।
शहरका गल्ली-गल्लीदेखि गाउँबस्ती अहिले झिलिमिली बत्तीले चम्किएका छन्। सहरका चोकचोकमा रहेका गल्लीका पसलहरुमा सयपत्री र मखमली फूलका मालाले सजिएको छ। तीनै फूल किन्नेहरुको भिड बढेको छ। घरघरमा फूलका मालाहरु सजिएको छ।
अर्थशास्त्री पृथ्वीराज लिगलका अनुसार गाउँका खेत बारीमा फूलेका फूल र प्रसादका सामग्री बेच्ने किसानका अनुहार तिहारको फूल जस्तै मुस्कुराइरहेका छन। तीनै फूल र प्रसादले सहरमा पैसा बग्छ। गाउँमा आम्दानी बढ्छ- यही हो तिहारको अर्थतन्त्रको सुन्दर समीकरण।
‘तिहार केवल पाँच दिनको चाड होइन, यो देशको आर्थिक नाडीको धड्कन हो। बजार, उपभोग, ऊर्जा र रोजगारीका सबै सूचकहरू यसै समयमा बढी सक्रिय हुन्छन’ अर्थशास्त्री लिगलले भने ‘जसरी एउटा सानो दियोले पूरै घर उज्यालो बनाउँछ, त्यस्तै तिहारले देशको अर्थतन्त्रमा उज्यालो फैलाउँछ- अस्थायी होइन, आशा र चलायमानताको उज्यालो।’
तिहारले नेपाली उपभोक्ता बजारको वास्तविक क्षमता देखाउँछ। व्यापारीदेखि किसान, डिजिटल फिनटेकदेखि महिला उद्यमीसम्म- सबै यो पर्वमा प्रत्यक्ष रूपमा सक्रिय हुन्छन।
तिहारले ग्रामीण र शहरी अर्थतन्त्रबीच अदृश्य पुल पनि निर्माण गर्छ। गाउँमा उत्पादन हुने फूल, घिउ, तरकारी, दूध र घरेलु सामग्रीहरू सहरमा उपभोग हुन्छन। सहरको खर्चले गाउँको आम्दानी चलाउँछ। ग्रामीण महिलाहरूले बनाएका माला, दियो र हस्तकला सहरका पसलमा झुण्डिएका देखिन्छन। तिनै हस्तकला र साना उत्पादनहरूले स्थानीय उद्यमशीलतालाई नयाँ उचाइमा पुर्याइरहेका छन्।
तिहारले नेपाली उपभोक्ता बजारको वास्तविक क्षमता देखाउँछ। व्यापारीदेखि किसान, डिजिटल फिनटेकदेखि महिला उद्यमीसम्म- सबै यो पर्वमा प्रत्यक्ष रूपमा सक्रिय हुन्छन। तिहारको समयमा बढेको कारोबारले कर राजस्वमा पनि योगदान दिन्छ।
तिहारका लागि घर–घरमा नयाँ कपडा किनिन्छ, मखमली र गोदावरी फूलले ढोका सजाइन्छ, मिठाई र दियो किन्ने होड चलिरहेको छ। झिलिमिली बत्ती, डेकोरेशन सामग्री, मिठाई र लुगा-सबैमा बिक्री बढ्ने यो समय व्यापारीका लागि वर्षकै सर्वाधिक व्यस्त सिजन मानिन्छ।
शहरमा झिलिमिली बत्ती बल्दै गर्दा त्यस उज्यालोको जरो भने गाउँमै हुन्छ। गाई, कुकुर, गोवर्द्धन र भाइटीका- यी सबै दिनमा प्रयोग हुने दूध, घिउ, चामल, फूल, फलफूल, नरिवल, अक्षता र दियो सबै गाउँले किसानले तयार पारेका हुन्छन्।
चितवन, मकवानपुर, ललितपुर, नवलपुरदेखि रुपन्देहीका गाउँहरूमा अहिले फूल टिप्ने, माला गाँस्ने र दूध संकलन गर्ने व्यस्तता छ। तिहारको बेला काठमाडौंमा मात्र ४० लाखभन्दा बढी फुलको माला विक्रि वितरण हुने गरेको नेपाल फ्लोलिकल्चर एशोसिएसनले जनाएको छ। एउटा मालाको न्यूनतम एक सय रुपैयाँदेखि ५०० सम्म पर्छ। मखमली फूलको मूल्य अझ बढी हुन्छ। यसरी ४० लाख फूलको मालाको न्यूनतम १०० रुपैयाँको दरले मात्र बिक्री हुँदा पनि ४० करोड रुपैयाँको हुन आउँछ।
आफ्नो परम्पराअनुसार विभिन्न विधिले लक्ष्मीको पुजा गर्ने भएकाले पनि फलफूलदेखि हाँसको अण्डासहितको व्यापार चम्किने गरेको अनामनगरमा खुद्रा व्यापार गरिरहेका व्यवसायी हरि पराजुलीको भनाइ छ।
यस्तै, गाउँमा उत्पादन भएको ओखर, बदामसहित विभिन्न फलफूलको अत्याधिक माग हुने गरेको छ। आफ्नो परम्पराअनुसार विभिन्न विधिले लक्ष्मीको पुजा गर्ने भएकाले पनि फलफूलदेखि हाँसको अण्डासहितको व्यापार चम्किने गरेको अनामनगरमा खुद्रा व्यापार गरिरहेका व्यवसायी हरि पराजुलीको भनाइ छ।
ललितपुरको गोदावरीकी किसान सीता तामाङ भन्छिन, ‘तिहार आउँदा हामीलाई खेतभन्दा फूलबारीमा कमाउने मौका मिल्छ। पाँच दिनमा महिनाभरको कमाइ हुन्छ, सहरले हाम्रो पसिना किन्न आउँछ।’
तिहारको अर्थ केवल धार्मिक नभई आर्थिक पुनर्जीवन पनि हो। यो पर्वमा शहरले खर्च गर्ने पैसा गाउँसम्म पुग्छ। यसले ग्रामीण बजारमा क्रियाशीलता ल्याउँछ। फूल व्यापारीदेखि मिठाई बनाउने, कपडा बेच्ने, दियो ढाल्ने सबैको आम्दानी बढ्छ। अर्थशास्त्रीहरूको अनुसार तिहारले देशको आन्तरिक बजारमा अर्बौं रुपैयाँको कारोबार हुने गर्छ।
गाउँले उत्पादन गर्छ। शहरले उपभोग गर्छ। यही सन्तुलनले अर्थतन्त्रको चलायमानता कायम राखेको छ। तिहारका पाँच दिनमा मात्रै देशभर करोडौँको फूल, माला, घिउ, दूध, मिठाई र घरेलु सामग्रीको कारोबार हुन्छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, तिहारको समयमा नगद कारोबार र डिजिटल ट्रान्जेक्सन दुवै तीव्र वृद्धि हुन्छन।
सहरमा क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आइपिएसमार्फत किनमेल बढ्छ। गाउँमा नगद चलायमान हुन्छ। एकातिर सहरका पसलेहरू मोबाइलमा पेमेन्ट स्वीकार्दै छन्। अर्को तिर गाउँका किसानहरूलाई त्यो पैसा नगद रूपमा आइपुग्छ।
भाइटीकाको दिनपछि बजार केही शान्त भए पनि त्यसको आर्थिक प्रभाव लामो रहन्छ। व्यवसायीहरूले नयाँ ग्राहक पाउँछन्।
मखमली, सयपत्री र गोदावरी खेती गर्ने किसानहरू अहिले उत्साहित छन। विगतका वर्षहरूमा महामारी र राजनीतिक अस्थिरताले बजार सुस्त बनाएको थियो। तर, यस वर्ष फूल बजार फेरि चलायमान छ। एक किलो फूलको मूल्य गत वर्षको तुलनामा २०-२५ प्रतिशतले बढेको छ। थलिमा फूलखेती गर्दै आएका रामचन्द्र कार्कीले भने, ‘सहरमा बत्ती बल्दा हाम्रो खेतमा पनि उज्यालो आउँछ।’
यस्तै, मिठाई र ड्राइफ्रुट बजारको कथा पनि गाउँसँग गाँसिएको छ। शहरका मिठाई पसलहरूमा प्रयोग हुने दूध, घिउ र पिठो प्रायः ग्रामीण उत्पादन हो। तराई र मध्य पहाडी क्षेत्रका किसानका गाईभैँसीको दुधले शहरको मिठाई बजार चलाउँछ। यही दुध र घिउले हरेक लक्ष्मी पुजामा शहरका घरहरूमा दीप बलाउँछ। यसरी तिहारले कृषि उत्पादन र शहरी उपभोगबीचको चक्रलाई बलियो बनाउँछ।
तिहारमा ऊर्जा खपत पनि दोब्बर हुन्छ। नेपाल विद्युत प्राधिकरणका अनुसार, माग सामान्य दिनको भन्दा २५-३० प्रतिशत बढ्छ। सहरमा बिजुलीले बत्ती बलाउँछ, गाउँमा त्यसको अर्थ हुन्छ- उत्पादन र आपूर्तिका लागि थप अवसर।
भाइटीकाको दिनपछि बजार केही शान्त भए पनि त्यसको आर्थिक प्रभाव लामो रहन्छ। व्यवसायीहरूले नयाँ ग्राहक पाउँछन्। नयाँ प्रवृत्तिहरू देखिन्छन र उपभोक्ता व्यवहारमा परिवर्तन आउँछ। यो पर्वले अर्थतन्त्रलाई अस्थायी मात्र होइन, मनोवैज्ञानिक ऊर्जा पनि दिन्छ। जसरी दीपावलीको दियोले अँध्यारो हटाउँछ, त्यसरी नै तिहारले अर्थतन्त्रमा उज्यालो ल्याउँछ।