काठमाडौं। जेटस्ट्रिम (जे४१) जहाज बेचेर एटीआर खरिद गर्ने योजनाका साथ २०७९ फागुनदेखि उडान बन्द गरेको गुण एयरलाइन्सले व्यवसायिक साझेदार भित्र्याउने भएको छ। तीन वर्षदेखि ग्राउण्डेड यस एयरलाइन्सलाई पुनः सञ्चालन गरी एटीआर जहाजमार्फत नियमित उडान गर्ने उद्देश्यका साथ गुणले व्यवसायिक साझेदार ल्याउने अन्तिम तयारी गरेको हो।
गुण ग्रुप निकट एक व्यवसायीका अनुसार अहिले व्यवसायिक साझेदार ल्याउने गरी हस्तारक्षरका लागि अन्तिम चरणमा पुगेको छ। ‘अहिले स्वदेशी एवं विदेशी गरी तीन वटा ग्रुपसँग अन्तिम चरणको छलफल चलिरहेको छ,’ ती व्यवसायीले भने, ‘सहमतिको अन्तिम रुप दिने काम भइरहेको छ।’
गुण ग्रुपको तर्फबाट अहिले भएका जहाजहरु सबै बेच्ने र त्यसैलाई पुँजीको रुपमा लिने भएको छ। यस्तै साझेदारको रुपमा रहेको ग्रुपले पहिलो चरणमा तीन वटा एटीआर जहाज ल्याउने सहमति भएको छ। जहाज खरिद वा भाडामा ल्याउने भन्ने विषय भने खुलाएको छैन। पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा भाडाकै जहाज ल्याउने प्रचलन रहेकाले गुणले पनि भाडामै ल्याउने वा नयाँ खरिद गर्ने भन्ने यकिन नभएको हो।
चुनावपछि बन्ने सरकार कस्तो रहन्छ? र निजी क्षेत्रमध्ये पर्यटनलाई हेर्ने नीति कस्तो आउँछ? भन्ने विषयमा लगानीकर्ताहरुले चासोका साथ हेरिरहेका छन्। गुण ग्रुपसँग साझेदार गर्ने तयारी गरेको ग्रुपले पनि चुनावी परिणाम र सरकारको नेतृत्व कस्तो आउँछ? भन्ने विषयलाई ध्यानमा राखेर लिखित सम्झौता नगरेको जनाएको छ। गुण एयरका एक उच्च अधिकारीका अनुसार चुनावपछि नयाँ स्वरुपमा एयरलाइन्स सञ्चालनमा आउँछ।
चीनसहित विभिन्न मुलुकका व्यवसायीले यस जहाज खरिद गर्ने गरी छलफल गरे पनि निर्णयमा पुग्न सकेको थिएन।
पाँच वटा जेटस्ट्रिम बेच्दै गुण
खर्चालु जहाजको रुपमा लिँदै आएको जेटस्ट्रिम जहाज बिक्री गर्ने तयारीमा गुण रहेको छ। पाँच वटै जहाज बिक्री गरी नयाँ जहाज ल्याउने तयारीमा गुण एयरलाइन्स रहेको जनाएको छ। अत्याधिक रुपमा हवाई इन्धन खपत हुने र सामानसमेत सहज रुपमा नपाउने भएपछि गुणले आफूसँग भएका पहिलेका जहाज तीन वर्षअघि बिक्री गर्न खोजेको थियो।
त्यसका लागि विभिन्न चरणमा छलफल गरे पनि बिक्री गर्न सकेका छैनन्। चीनसहित विभिन्न मुलुकका व्यवसायीले यस जहाज खरिद गर्ने गरी छलफल गरे पनि निर्णयमा पुग्न सकेको थिएन। अहिले यी जहाज बिक्रीका लागि तयारी भइरहेको जनाएको छ।
बिच क्राफ्टमार्फत उडान सुरु गर्ने
जहाज ग्राउण्डेड भएसँगै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालन अनुमति (एओसी) निलम्बन गरेको छ। एओसी निलम्बन फुकुवा नभएसम्म जहाज बिक्री, उडान तथा नयाँ खरिद गर्न पाउँदैन।
एओसी नवीकरण भएपछि गुणले दुई वटा बिचक्राफ्ट जहाजमार्फत उडान गर्ने तयारी थालेको जनाएको छ।
यसैले अहिले गुणले प्राधिकरणमा एओसी फुकुवाका लागि पत्र पठाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एओसी नवीकरण नभएकाले सुरुवाती चरणबाटै प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
गुणसँग हाल रहेको जहाज लामो समयदेखि ग्राउण्डेड भएकाले प्रक्रियाअनुसार सबै पार्टपुर्जा जाँच गर्न समय लाग्ने हुन्छ। इञ्जिनदेखि सबै पार्टपुर्जा जाँचका लागि विदेशबाट इन्जिनियर ल्याउनुपर्ने हुन्छ।
उनीहरुले जाँच गरेर सबै ठिक छ भन्ने सर्टिफाई भएपछि मात्र डेमोस्ट्रेसनका लागि योग्य हुने र एओसीको काम सुरु हुने सूचना अधिकारी भुलको भनाइ छ। एओसी नवीकरण भएपछि गुणले दुई वटा बिचक्राफ्ट जहाजमार्फत उडान गर्ने तयारी थालेको जनाएको छ।