काठमाडौं। शुक्रबार एसियाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आएपछि नेपाली लगानीकर्ताहरू तनावमा परेका छन्। बिहीबारको ठूलो घाटापछि शुक्रबार पनि यी धातुको मूल्यमा कमी आएको छ। नाफा लिने क्रम, भूराजनीतिक तनाव घट्नु र डलरको बलियो स्थितिले धातु बजारलाई नकारात्मक असर पारेको छ।
बिहीबार करिब १५ प्रतिशतले घटेको चाँदीको मूल्य शुक्रबार पनि घट्ने क्रममा छ। यस्तै, सुनको मूल्य गत साता कायम गरेको सर्वकालीन उच्च भन्दा करिब १००० डलर प्रति औंस तल झरेको छ। विश्व बजारमा स्पट सुन ०.६ प्रतिशतले घटेर ४,७५१.१३ डलर प्रति औंसमा कारोबार भइरहेको छ भने सुन फ्युचर्स २.५ प्रतिशतले घटेर ४,७६६.११ डलर प्रति औंसमा पुगेको छ। यस्तै स्पट चाँदी २.२ प्रतिशतले घटेर ६९.३८३० डलर प्रति औंसमा कारोबार भइरहेको छ भने चाँदी फ्युचर्स ८.१ प्रतिशतले घटेर ७०.३७८ डलर प्रति औंसमा झरेको छ।
विश्व बजारमा सुनको मूल्य ओरालो लागेपछि त्यसको सीधा असर नेपाली बजारमा समेत परेको छ। पछिल्लो समय सहकारी तथा बैंकबाट ऋण लिएर सुन चाँदीमा लगानी गर्ने लगानीकर्ता बढेका बेला यो गिरावटले उनीहरूले गम्भीर चुनौतीको सामना गर्नुपरेको छ।
सुन धितो राखेर कर्जा लिने तथा सहकारीबाट ऋण लिएर सुनमा लगानी गरेका लगानीकर्ताहरू निरन्तर मानसिक दबाब खेपिरहेका छन्। मूल्यमा आएको यो गिरावटले उनीहरूको लगानी घाटामा परेको छ भने ऋण तिर्ने चिन्ता थपिएको छ।
विशेषगरी, उच्च ब्याजदरमा ऋण लिएर सुनमा लगानी गर्नेहरू अहिले दोहोरो समस्यामा फसेका छन्। एकातिर ऋणको ब्याज बढ्दै गइरहेको छ, अर्कोतिर लगानीको मूल्य घट्दै गएको छ। ओसीबीसी विश्लेषकहरूले भनेका छन्, "७० देखि ९० डलरको दायरा अहिले चाँदीको लागि महत्वपूर्ण स्थिरता क्षेत्र हो। यो क्षेत्रभन्दा तल निरन्तर रहेमा मूल्य ५८-६० डलरसम्म झर्न सक्छ। तर यदि मूल्य यस दायरामा टिक्यो भने पुनः तेजीको सम्भावना छ।"
धातु बजार गत सातादेखि नै ओरालो लाग्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरोम पावेलपछि केभिन वार्शलाई अर्को फेडरल रिजर्भ अध्यक्षको रूपमा मनोनयन गरेपछि यो गिरावट सुरु भएको थियो। वार्शलाई कम उदार नीति अपनाउने व्यक्तिको रूपमा हेरिएको छ, जसले गर्दा डलर बलियो भएको र धातु बजारमा दबाब परेको हो। डलर अक्टोबरको शुरुवातदेखिकै सबैभन्दा राम्रो हप्ता तय गर्ने बाटोमा छ।
यसका साथै इरान र अमेरिकाबीचको तनाव केही कम हुँदा सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग घटेको छ। दुवै देशले ओमानमा आज वार्ता गर्ने तय भएको छ। कमजोर श्रम बजार तथ्यांकले पनि धातु बजारलाई राहत दिन सकेको छैन। वित्तीय विश्लेषकहरूले ऋण लिएर जोखिमपूर्ण लगानी नगर्न सुझाव दिँदै आएका छन्। विशेषगरी अस्थिर बजारमा उच्च ब्याजदरमा ऋण लिएर लगानी गर्नु अत्यन्तै जोखिमपूर्ण मानिन्छ।