काठमाडौं। नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटीजले नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२ लागू भएपश्चात लगानकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबावार सुविधा प्रदान गर्न सुरु गरेको छ।
कम्पनीका अनुसार अब लगानीकर्ताले नासा सेक्युरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्ने छन्। जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउने छ।
विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक मैत्री बनाइएको कम्पनीले बताएको छ।
कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुविधासम्बन्धी निर्देशिका २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो। यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीको मार्जिन ट्रेडिङ्ग योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहे उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्ने छन्। ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्ने छन्।
यस योजनाअनुसार ऋणको अवधि एक महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ। सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जानाएको छ।
यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ। जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहने छ। यस मार्जिन ट्रेडिङ सुविधामार्फत लगानीकर्ताले ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ।