काठमाडौं । मोवाइल सेवाप्रदायक एनसेल प्राइभेट लिमिटेडले पुँजीगत लाभकर सबै बुझाएको छ । एनसेलले आइतबार बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर दायित्व ठुला करदाता कार्यालयलाई बुझाएको हो ।
आजदेखि एनसेलको लाभकर दायित्व सकिएको ठुला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए ।
यसअघि पहिलो किस्तावापत ४ अर्ब ५० करोड र दुई साताअघि दोस्रो किस्ता बापत ४ अर्ब ६० करोड रुपैयाँ लाभकर एनसेलले ठुला करदाता कार्यालयमा बुझाएको थियो । एनसेलले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको हो।
सरकारलाई लाभकर तिर्न एनसेलले माग्यो ऋण, नेपाल इन्भेस्टमेन्टको अगुवाइमा ५ बैंकले दिने भए २० अर्ब
सर्वोच्च अदातले २२ अर्ब १० करोड रुपैयाँ लाभकर निर्धारण गरेको थियो । ३ किस्तामा एनसेलले सबै कर चुक्ता गरेको हो ।
एनसेलले नेपाली बैंकहरुबाट ऋण लिएर लाभकर तिरेको हो ।
उसले नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा नबिल बैंक र ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र नेपाल बैंकले २० अर्ब रुपैयाँ ऋण लिएको हो ।
बैंकहरुबाट शुक्रबार पैसा पाएपछि एनसेलले आइतबार कर तिरेको हो ।एनसेलले लिएको ऋणको ब्याज साढे १० प्रतिशत रहेको छ । उसले ८ वर्षका लागि दीर्धकालिन ऋण लिएको हो । एनसेलले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले बन्दावन्दी (लकडाउन) गरेपछि देशको आर्थिक क्षेत्र ठप्प छ । लकडाउनले कर असुल हुन सकेको छैन । एनसेलको लाभकरले सरकारलाई केही राहात भएको छ ।