मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माणले गति लिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निर्माणाधीन यो मूर्तिको करिब ४० प्रतिशत काम सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङ का धर्मराज शाक्यले जानकारी दिए। यो मूर्ति तयार भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्नेछ।
२०७९ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको परियोजनामा उद्योगपति शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। आगामी वर्षभित्र मूर्ति निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको मुक्तिनाथ क्षेत्रका बीचमा यो विशाल मूर्ति उभिनेछ। यसले मन्दिर र त्यहाँकै सोनाम लामाले स्थापना गरेको बुद्ध मूर्तिबीचको धार्मिक समन्वयलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। करिब दुई सय फिट दूरीमा रहेका यी दुई मूर्तिबाट हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
विष्णुको मुर्ति निर्माणमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले र युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)का सभापति सोनाम लामाले सहयोग गरेका छन्। लामाले यसअघि मुक्तिनाथमै करिब ६ करोड रुपैयाँ लागतमा बुद्ध मूर्ति निर्माण गराइसकेका थिए। उनका अनुसार मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको साझा आस्थाको केन्द्र भएकाले विष्णु मूर्तिले क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणलाई नयाँ उचाइ दिनेछ।
मूर्ति निर्माणका लागि आवश्यक ढुङ्गा काठमाडौंको चोभारबाट ल्याइएको हो। सोही ढुङ्गा बुद्ध मूर्तिमा पनि प्रयोग गरिएको थियो। हाल मूर्ति निर्माणमा २० जनाभन्दा बढी कालिगड प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्।
समग्र परियोजना पूरा गर्न करिब ९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मुक्तिनाथ विकास समिति र स्थानीय गाउँपालिकाले यसका लागि सहयोग पुर्याइरहेका छन्।
‘यो केवल मूर्ति होइन, मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई विश्वसामु उजागर गर्ने प्रतीक हो,’ शेष घलेले बताए। मुक्तिनाथ विकास गुरु योजनाअन्तर्गत परम्परागत संरचनाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो परियोजना अघि बढाइएको हो।
विष्णु मूर्तिको स्थापना भएपछि मुक्तिनाथमा आउने तीर्थयात्री र पर्यटकको संख्या झन् बढ्ने अपेक्षा गरिएको छ। हिमाल, धर्म र कलाको संगम बनेको यो परियोजना मुस्ताङको गौरवको प्रतीक बन्दैछ।