काठमाडौं। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोसी प्रदेशले पर्यटन वर्ष २०८२ मनाइरहेको छ। छिमेकी भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको ५ महिना पूरा गरिसकेको छ।
सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए पनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए।
‘कोसीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन वर्ष सफल बनाउन लागिरहेको कोसी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन्।
उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने गरेका छन्।
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोसी सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको छ। पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऊर्जा, जलविद्युत्, पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताए।
प्रदेशमा पर्यटक स्तर होटल करिब पाँच सय होटल र वानस्टार स्तरदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा कोसी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठले जनाए। उनका अनुसार यी होटलमा दैनिक तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ।
कोसी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ। यहाँ विभिन्न प्रसिद्ध धार्मिकस्थलसहित आठ हजार आठ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ। सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजाराैं स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ।
कोसीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।
भारतको बिहारका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन्। उनी भन्छन्, ‘यसअघि पनि साथीहरूसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छ’, इलामको कन्याममा भेटिका उनले भने।
उनका अनुसार अघिल्लो समयभन्दा यस वर्ष भ्रमण निकै सहज र रमाइलो भएको छ। आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउँछन्। उनले भने, ‘सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको बताए।
सर्वोच्च शिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्यांक छ। धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन्।
इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन्। सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से र चोयुलगायत हिमशृंखलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ।