म्याग्दी। केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।
होटल तथा रेस्टुराँ व्यवसायी संघ म्याग्दीका पूर्वअध्यक्ष बाबुराम आचार्यले आन्तरिक एवं वाह्य पर्यटकको चाप बढेर होटल भरिभराउ भएको जानकारी दिए। ‘देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्’, उनले भने, ‘दसैंतिहार छुट्टी यामको अन्तिम समय एकैपटक धेरै संख्यामा पाहुना आउँदा व्यवस्थापनमा समस्या भएको छ।’
बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिंगा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन्। होटल तथा रेस्टुराँ व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ।
म्याग्दीका होटल भरिएपछि शुक्रबार साँझ पाहुनालाई बागलुङ र कुश्मामा रोकिएको संघका पूर्वअध्यक्ष आचार्यले बताए। काठमाडौं, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।
दसैंअघिसम्म म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका थिए। मौसममा सुधार र यातायात सहज भएपछि दसैंलगत्तै सुरु भएको पाहुनाको चहलपहल तिहार सकिए पनि रोकिएको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल परियारले सार्वजनिक, निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको बताए।
पछिल्लो दुई दिनयता दैनिक ७०० वटाभन्दा बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवतजावत गरिरहेका छन्। यसअघि दैनिक १०० देखि १५० सवारीसाधन आवतजावत गर्दथे।
पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालले बताए।
यस वर्ष म्याग्दीको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य स्थलका रूपमा विकास भएको छ। थला परेका होटल तथा रेस्टुराँ व्यवसायीले राहतको महसुस गरेका छन्। मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी–जोमसोम सडकमा जाम हुन थालेको छ।–रासस