महेन्द्रनगर। मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटलाई सिँगार्ने काम भइरहेको छ।
यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ।
गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए।
गुप्ताले यो वर्ष प्रतिअर्घ ६०० रुपैयाँ निर्धारण गरिएको बताए। उनले भने, ‘सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अर्घय राख्छन्। प्रत्येक वर्ष रु ३००/३५० पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।’
गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ। गंगासागरमा तीनवटा समितिले सजावटको काम गरेका छन्।
अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए।
कर्णले यस पोखरीमा हिन्दु मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्ति रहने गरेको बताए। ‘घाटमा अर्घय राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घय राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौं’, उनले भने।
शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ। यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घय रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ।
यसैबीच मधेस सरकारले छठ पूजाकाे अन्तिम दिन साेमबार पनि प्रदेशभर सार्वजनिक बिदा दिएकाे छ।–रासस