काठमाडौं। यस वर्षको तिहार पर्व सकिएसँगै तराई/मधेसमा छठ पर्वको रमझम सुरु भएको छ। छठ पर्व नजिकिँदै गर्दा काठमाडौंसहित तराई/मधेसका तलाउ, पोखरी तथा नदी किनारमा शुक्रबारदेखि नै सजावटका काम भइरहेका छन्।
कतिपय पोखरीका घाटमा सरसफाइ थालिएको छ। छठी माई पूजाका लागि विभिन्न, घाट, तलाउ शृंगार्न थालिएको हो। छठ पर्व पहाडतिर पनि मनाउन थालिएकाले सोहीअनुसार नदी, तलाउका घाट सजावट गरिँदै छ।
तिहार सकिएसँगै जन्मघर टीका लगाउन गएकाहरु कर्मघर फर्किन थालिसकेका छन्। गाउँबाट सहरबजार र संघीय राजधानीसहित देशभरका विभिन्न स्थानमा रोजगार, व्यवसाय गरेर बसेकाहरु आ–आफ्ना गन्तव्य नाप्न थालेका हुन्। यद्यपि सरकारले शुक्रबार पनि तिहार बिदा दिएको थियो। तिहार सकिनासाथ छठकाे तयारी थालिएकाे हाे।
-1731043664.jpg)
अन्नकुट तथा गोवर्द्धन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुन्छ। बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ।
मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधाम, वीरगञ्जलगायत क्षेत्रमा छठ पूजनका लागि भव्य तयारी गरिएको छ। वीरगञ्जको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयको सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ। वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ।
यस्तै, जनकपुरधामका विभिन्न पोखरीलाई स्थानीय र क्लबको सहयोगमा विशेष रूपमा शृंगार्न थालिएको छ। कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ।
जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोई, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ।
छठी माई पूजाका लागि विभिन्न, घाट, तलाउ शृंगार्न थालिएको छ। छठ पर्व पहाडतिर पनि मनाउन थालिएकाले सोहीअनुसार नदी, तलाउमा घाट सजावट गरिँदै छ। काठमाडाैंका विभिन्न नदी किनारामा छठका लागि घाट बनाइँदै छ।
षष्ठीका दिन विधिपूर्वक साँझको अघ्र्य दिइने भए पनि मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ।
तराईका गाउँघरमा छठ पर्वका गीत गुन्जिने गरेका छन्। छठको पहिलो दिन व्रतालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ।
खरनाका दिन राती गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभर उपवास बस्ने गर्छन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्।
यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताए। अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाउने चलन छ। ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रह्माण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको सांस्कृतिक कथन छ।
छठ पर्वको मुख्य प्रसादका रूपमा ठकुवा, भुसबा, केरा, फलफूल, मिठाई, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बाँसबाट बनेका अन्य सामग्री हुन्।
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेसँगै अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरु भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव बताउँछन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बर्तालु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन्। त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ। यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक १० गते शुक्ल षष्ठी परेको छ।