मुस्ताङ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकै दिन छ हजार ८५९ पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्।
तिहारलगत्तै शुक्रबार बेनी-जोमसोम सडकमार्गमा यात्रुवाहक सवारी साधनको लस्करले राष्ट्रिय राजमार्ग पूरै व्यस्त रह्यो। मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए। शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारी साधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे।
यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन्। यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए।
कात्तिकको पहिलो सातासम्म बेनी-जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ।
तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमा आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी-जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए।
चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ।
विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताए।
सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो।
पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ। प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ।