काठमाडौं। आज देशैभर छठ पर्व मनाइँदै छ। साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी देशैभर विधिपूर्वक अघ्र्य दिइँदै छ।
छठ पर्व अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वले छठ अवसरमा शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसंगति अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’
छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ। सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ।’
यस्तै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा उल्लेख छ।