काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर साधरणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका केही भूभागमा छिटपुट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि सिमसिम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राती बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ।
गण्डकीका केही स्थान, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा भारी वर्षासहित हिमपात पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
गण्डकीमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।