काठमाडौं।सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ।
उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजाआराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ। कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन्। यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो। चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ।
यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ। कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो।
विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ पछि काठमाडौंलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो। छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो।
आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई यस वर्षको छठ सम्पन्न भएको छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए।