काठमाडौं।अरब सागरको मौसमी प्रणालीले गरेको वर्षा बुधबारसम्म रोकिएपनि, बंगालको खाडीमा विकसित मोन्था नामक चक्रवातले बिहीबार साँझदेखि नेपाल आक्रमण गर्न तयार छ। मौसमविद् उज्जवल उपाध्यायका अनुसार यो चक्रवात सोझै पर्सा-बारा-रौतहट-सर्लाहीको बाटो हुँदै नेपाल प्रवेश गर्दै बाग्मती र मधेश प्रदेशमा बिनाशकारी वर्षा गराउनेछ।
गत असोज महिनामा आएको बाढीपहिरोले तीव्र क्षति पारेको इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्ला यो बेर सर्वोच्च जोखिममा छन्। पछिल्लो आपदामा इलामको विस्तृत क्षेत्र पहिरोले पुरेको र तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको थियो।
मौसमविदका अनुसार यीमध्ये कुनै-कुनै जिल्लामा दुई सय मिलिमिटरसम्म वर्षा हुन सक्छ। पहाडी क्षेत्रमा भारी हिमपात हुने र तराईका क्षेत्रमा बेतहाशा पानी बग्ने पूर्वानुमान छ। मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ र म्याग्दीजस्ता जिल्लामा पहिलेदेखिनै भारी हिमपात भइसकेको छ।
जोखिमी क्षेत्र र सावधानी
असोजमा आएको पहिरो-बाढीले माटो कमजोर गरेकाले दोस्रोपल आउँदै गरेको पानीले अझ ठूलो विनाश पारसक्ने आशङ्का गरिएको छ। मौसमविदले सर्वजनीन वाहनको यात्रा टालिने सुझाव दिएका छन्। बिहीबार मध्याह्नदेखि बीपी राजमार्ग, पृथ्वी राजमार्ग र काठमाडौं-हेटौंडा सडकमा यात्रा नगर्दा राम्रो हुने उपाध्यायको सुझाव छ।
रोल्वालिङ, सगरमाथा क्षेत्र र मकालु-बरुण पदयात्रा मार्गमा बिहीबार र शुक्रबारसम्म पदयात्रीलाई यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा ७० देखि ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले पहिरो गइरहने राजमार्ग क्षेत्रमा समस्या पार्न सक्छ। तथापि, मौसमविदले काठमाडौंको उच्च भेगमा हिउँ पर्ने सम्भावना नभएको जनाएका छन्।
आउने दिनहरुको मौसम
बुधबारदेखि मौसममा सुधार आउने र केहीबेर घाम लाग्ने पूर्वानुमान छ। विहीबार बिहान पनि मौसम सफा नै रहनेछ। तर बिहीबार साँझदेखि चक्रवातको प्रभाव पुनः सक्रिय हुने र शुक्रबार मध्याह्नसम्म वर्षा-हिमपात जारी रहने आशङ्का गरिएको छ।