काठमाडौ। चालू आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाको पदपूर्ति गर्न रिक्त पदको विवरण खुल्ने गरी कात्तिक १६ भित्र मन्त्रालयमा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
लोकसेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार रिक्त पदपूर्ति गर्न सेवा समूह सञ्चालन गर्ने सबै मन्त्रालय, महालेखा परीक्षक कार्यालय र महालेखा नियन्त्रक कार्यालयलाई सूचना जारी गरिएको हो।
सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने सेवा, समूह, उपसमूह, विभिन्न निकायमा रहेका राजपत्रांकित तृतीय श्रेणी, (शाखा अधिकृत) को प्राविधिक तथा अप्राविधिक रिक्त पदको विवरण खुल्ने गरी माग आकृति फाराम भर्न मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । माग आकृतिको विवरण पठाउँदा राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता भएका पदलाई मात्र सम्बोधन गर्नुपर्नेछ।
फाराम भर्दा सेवा, समूह वा उपसमूह, श्रेणी, पद, कुल स्वीकृत दरबन्दी, कार्यरत संख्या, रिक्त संख्या, जम्मा रिक्त पद, माग संख्या, अवकाश, राजीनामा, कारबाहीमा परी रिक्त हुनेको विवरण खुलाएर भर्नुपर्नेछ।