काठमाडौं। बंगालको खाडीबाट विकसित चक्रवात ‘मोन्था’ को असर नेपालका पूर्वी र मध्य भागमा देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार चक्रवात मोन्था उत्तर–पश्चिम दिशातर्फ सर्दै जाँदा यसको प्रभाव क्रमशः कोसी, मधेस र बागमती प्रदेशमा देखिन लागेको हो। प्रभावस्वरुप अहिले देशका अधिकांश भागमा मौसम अदलीबदली, तापक्रम घट्दो र सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावा चल्ने र चिसो बढ्ने क्रम बढेको महाशाखाको भनाइ छ।
संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीमा मंगलबार रातीदेखि लगातार वर्षा र हिमपात हुन थालेको छ। मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लाका उच्च भू–भागमा हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा हिमपात सुरु भएको छ।
उच्च पहाडी तथा हिमाली भू–भाग विशेषगरी कोसी र बागमती प्रदेशका क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको चेतावनी दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन्।
बंगालको खाडीमा विकसित प्रणालीले नेपालको मौसममा प्रत्यक्ष असर पार्ने सम्भावना देएिकाले सरकारका तीनै निकायलाई सतर्क रहन भनिएको उनले जानकारी दिइन्।
मौसमविद्का चक्रवात मोन्था उत्तर–पूर्व दिशातर्फ तीव्र गतिमा बढ्दै नेपालको भू–भागमा प्रवेश गरे वर्षा र हिमपात थप तीव्र हुन सक्नेछ।
भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीले विद्यालय बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।