कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) प्रयोग गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछ उपभोक्ताले नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएका हुन्।
चार वर्षअघि नियम विपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै अदालतमा मुद्दा परेपछि नदीजन्य पदार्थको प्रयोगमा रोक लागेको थियो।
‘उपभोक्ताको अधिकार हनन भएको कुरा सर्वोच्च अदालतसमक्ष राख्यौं’, सुनदेवी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष भरतबहादुर विष्टले भने, ‘अदालतले मर्का बुझेपछि उपभोक्ताको हितमा हुने गरी अन्तरिम आदेश जारी गरेपछि नदीजन्य पदार्थमा लगाइएको रोक हटेको छ।’
नदीजन्य पदार्थमा रोक लगाइएपछि उपभोक्ताले घर निर्माणलगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्दा दुई हजार प्रतिट्रली पर्ने ढुंगा, गिट्टी, बालुवाको ६ हजारदेखि आठ हजारसम्म तिर्न बाध्य रहँदै आएको उनले बताए।
नदीजन्य पदार्थमा लगाइएको रोक हटेसँगै उपभोक्ताले सहज रुपमा नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएको उनको भनाइ छ।
उनका अनुसार निकुञ्जका ९ वटै मध्यवर्ती समितिअन्तगर्तका ४८ सामुदायिक वनका २० हजार बढी बासिन्दाले नदीजन्य पदार्थ प्रयोग गर्न पाउनेछन्। नदीजन्य पदार्थ उत्खननका लागि निकुञ्जले यसअघि नै वातावरणीय प्रभाव मूल्यांकन(इआइए)को कार्य यसअघि नै गरेकाले सोहीअनुरुप नदीजन्य पदार्थ उपलब्ध हुने समितिका सचिव दामोदर जोशीले बताए।
उनका अनुसार नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका समितिको सिफारिसमा सामुदायिक वनले उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जारी गरेका सूचनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ को निर्णयानुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि घरायसी प्रयोजनार्थ नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताका माग सम्बोधन गरिएको छ।–रासस