काठमाडौं। नेपालले बंगलादेशको ढाकामा सम्पन्न भएको तीनदिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीष गन्त्वयबारे विस्तृत प्रस्तुती दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारि गराएका छन्। त्यसैगरी बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका छन्।
टुअर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एम.डी. रफेउज्जामान र निर्देशक एम.डी. तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका छन्। कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए। यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किंग सत्रसमेत भएको थियो। साथै, कार्यक्रमकै क्रममा 'राफल ड्र' आयोजना गरी विशेष 'होलिडे प्याकेज'हरू पनि घोषणा गरिएको थियो। यस कार्यक्रममा १०० भन्दा बढी बंगलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए।
बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो। जसमा नेपालल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) सहित नेपालका १० पर्यटन व्यवसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए। नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधिहरू समावेश थिए। टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ।
यस अन्तर्राष्ट्रिय मञ्चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई “जीवनभरको अनुभवको गन्तव्य”का रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ।