काठमाडाैं। बलिउड सुपरस्टार शाहरुख खान आजदेखि ६० वर्षमा लागेका छन्। तीन दशकदेखि भारतीय चलचित्र उद्योगका धड्कन बनेका खान अहिले केवल पर्दाका प्रेमकथाका नायक मात्र होइनन्, भारतका मनोरञ्जन उद्योगका पहिलो अर्बपति आइकन बनेका छन्।
हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार उनको कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर अर्थात् करिब १.८६ खर्ब नेपाली रुपैयाँ पुगेको छ। यससँगै उनी विश्वका सबैभन्दा धनी कलाकारहरूको सूचीमा परेका छन्, जसमा अर्नोल्ड श्वार्जनेगर, टेलर स्विफ्ट, रिहाना, टाइगर वुड्स र ओप्रा विन्फ्रे जस्ता नामहरू पनि समावेश छन्।
शाहरुखको सम्पत्ति तीव्र गतिमा बढ्नुको मुख्य कारण केवल अभिनय होइन, उनको व्यावसायिक दृष्टिकोण हो। उनले सन् २००२ मा स्थापना गरेको रेड चिलिज इन्टरटेन्मेन्ट अहिले भारतकै सबैभन्दा सफल निजी फिल्म स्टुडियोमध्ये एक बनेको छ। पठान, जवान र डंकी जस्ता सुपरहिट फिल्महरूले यस कम्पनीलाई अर्बौं रुपैयाँको कारोबारमा पुर्याएको छ।
त्यससँगै उनले खेल क्षेत्रलाई पनि आफ्नो व्यावसायिक साम्राज्यको हिस्सा बनाएका छन्। उनले आईपीएल फ्रेन्चाइज कोलकाता नाइट राइडर्स (केकेआर) मा सह-मालिकको हैसियतमा ठूलो लगानी गरेका छन्, जसको अहिले मूल्य करिब १.५ अर्ब डलर पुगेको अनुमान छ।
शाहरुखको सम्पत्ति तीव्र गतिमा बढ्नुको मुख्य कारण केवल अभिनय होइन, उनको व्यावसायिक दृष्टिकोण हो।
शाहरुख बलिउडका सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता मात्र होइनन्, विज्ञापन जगत्का पनि राजा हुन्। उनले लक्जरी घडी, मोबाइल, अटोमोबाइल, रियल इस्टेटदेखि पेय पदार्थसम्म ३० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्छन्, जसबाट वार्षिक २० देखि २५ मिलियन डलरसम्म आम्दानी हुने अनुमान छ।
त्यसबाहेक उनी रियल इस्टेटमा पनि व्यापक लगानीकर्ताको रूपमा परिचित छन्। मुम्बईस्थित मन्नत बंगला, दुबईको पाल्म जुबेरा, लन्डन र न्युयोर्कका सम्पत्तिहरूले उनको विश्वव्यापी आर्थिक हैसियत झल्काउँछन्।
हुरुन इन्डियाका संस्थापक अनस रहमान जुनैदका अनुसार शाहरुख खानको अर्बपति बन्नु भारतको आर्थिक विकासको नयाँ चरणको प्रतीक हो। उनले भने, ‘भारतको धन सिर्जना अब उत्पादन र बैंकिङमा मात्र सीमित छैन, मनोरञ्जन, खेल र बौद्धिक सम्पत्तिमा आधारित व्यवसायहरूले पनि नयाँ मूल्य सिर्जना गरिरहेका छन्।’ यही कारणले शाहरुखको नाम अहिले परम्परागत उद्योगपतिहरूको सूचीमा पनि समान सम्मानका साथ उच्च स्थानमा छ।
हुरुन इन्डियाका संस्थापक अनस रहमान जुनैदका अनुसार शाहरुख खानको अर्बपति बन्नु भारतको आर्थिक विकासको नयाँ चरणको प्रतीक हो।
यस वर्षको सूचीमा अन्य बलिउड कलाकारहरू पनि परेका छन्– जुही चावला र उनका परिवार ८८० मिलियन डलरसहित दोस्रो, ऋतिक रोशन २६० मिलियन डलरसहित तेस्रो, करण जोहर करिब २०० मिलियन डलरसहित चौथो र अमिताभ बच्चन तथा उनको परिवार १८३ मिलियन डलरसहित पाँचौं स्थानमा रहेका छन्। तर, शाहरुख खानको सम्पत्ति ती सबैभन्दा धेरै छ, बलिउडको इतिहासमै पहिलो पटक कुनै कलाकारको सम्पत्ति एक अर्ब डलर नाघेको हो।
छैठौं दशकमा प्रवेश गरे पनि शाहरुख खानको लोकप्रियता र प्रभाव घटेको छैन। दिलवाले, कभि खुशी कभि गम, चेन्नई एक्सप्रेसदेखि पठान र जवानसम्म उनले हरेक पुस्तासँग आफ्नो सम्बन्ध जोगाइराखेका छन्। उनी अब अभिनय मात्र होइन, व्यवसाय, खेल र ग्लोबल ब्रान्डको प्रतीक बनेका छन्।
उनी स्वयंले एक अन्तर्वार्तामा भनेका थिए, ‘फिल्म मेरो प्यार हो, तर बिजनेस मेरो इम्पायर।’ आजको मितिमा त्यो वाक्य यथार्थ बनेको छ। शाहरुख खान अब बलिउडका ‘किङ अफ रोम्यान्स’ मात्र होइनन्, भारतको मनोरञ्जन उद्योगका सबैभन्दा सफल र प्रभावशाली उद्यमी बनेका छन्।