काठमाडौं। पद, शक्ति र सत्ताका लागि दस चिरा भएका ९ कम्युनिस्ट पार्टीबीच आज एकता घोषणा हुँदै छ भने असन्तुष्टहरुले अर्को पार्टी खोल्दै छन्।
नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा, नेकपा एसका घनश्याम भुसालहरुले अर्को पार्टी जन्माउन लाग्दा पुष्पकमल दाहाल र माधव नेपालहरु एउटै पार्टीमा रहने गरी नयाँ दल दर्ताको तयारीसहित आज भृकृटीमण्डबाट एकताको घोषणा गर्न लागेका हुन्।
नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै छ। माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार बिहान ११ बजे भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम रहेको जानकारी दिए।
माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो।
एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी छ। एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँचकुने तारा रहनेछ।
कार्यक्रममा एकीकृत पार्टीको संयोजक र सहसंयोजक पनि घोषणा हुने बताइएको छ। नयाँ पार्टीमा दाहाल संयोजक र नेता नेपाल सहसंयोजक रहनेछन्।