काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभामा हुने निर्वाचनको घोषणासभामा एसोसियट समूहका उपाध्यक्ष पदका उम्मेदवारले देशमा दोस्रो चरणको आर्थिक सुधार तत्काल गर्नुपर्ने माग राख्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो सम्बोधनमा उम्मेदवारले आफूलाई एक संघर्षशील उद्योगीका रुपमा परिचय दिँदै २०४६ सालको आर्थिक उदारीकरणदेखि लिएर १० वर्षे माओवादी जनयुद्ध, तराई आन्दोलन, ६२/६३ को जनआन्दोलन र हालैको जेनजी आन्दोलनसम्म प्रत्येक राजनीतिक उथलपुथलबीच उद्योग सञ्चालन गरिरहेको आफू एक अनुभवी तथा आशावादी उद्योगी भएको उनीहरूको दाबी थियो।
माओवादी धम्की र प्रतिष्ठानमा तोडफोड, खानी सञ्चालनमा मुद्दा, औषधि मूल्य समायोजनको विवादमा राज्यको कारबाही र ट्रंकलाइन विवादमा वर्षौंदेखि भोग्दै आएको मानसिक तनावजस्ता व्यक्तिगत अनुभवलाई उनीहरूले मञ्चबाटै साहसपूर्वक उजागर गरेका थिए।
उम्मेदवारले भने, '२०४६ सालपछिको पहिलो आर्थिक सुधारले बिमा, बैंकिङ, हवाई, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा निजी क्षेत्रको उपस्थिति बलियो बनायो, देशले ८ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्यो र पस्मिना, गार्मेन्ट तथा कार्पेट जस्ता वस्तु विदेश निर्यात हुन थाले।'
त्यसपछिको राजनीतिक अस्थिरता, नीतिगत विचलन र केही सीमित व्यक्ति केन्द्रित भ्रष्टाचारले देशको अर्थतन्त्र जर्जर बनाएको उनको ठहर छ। जेनजी आन्दोलनपछि ३० तीस वर्षदेखि जरा गाडेको राजनीतिक सिन्डिकेटको अन्त्य भई दुई तिहाई नजिकको सरकार बन्ने सम्भावना भएकाले अब दोस्रो चरणको आर्थिक सुधारका लागि यो उचित समय भएको उनले जोड दिए।
उनले कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार निर्माण जस्ता पाँच क्षेत्रमा ठोस आर्थिक सुधारको माग राख्दै १२ लाख थप रोजगारी सिर्जना गर्न सकिने बताए। नेपालीलाई विदेशमा जनशक्ति नभई वस्तु र सेवा निर्यात गर्ने अवस्थामा पुर्याउन सकिने धारणा राखे।
-1774262398.jpg)
साथै हरेक दुई वर्षमा अनिवार्य प्रतिष्ठान स्तरको सामूहिक सौदाबाजीको बाध्यात्मक अवस्थाको अन्त्य गरी मुद्रास्फीतिको आधारमा निजी क्षेत्र र श्रमिकको सहकार्यमा न्यूनतम तलब निर्धारण गर्नुपर्ने र भूतप्रभावी कर नलगाउने प्रतिबद्धता सरकारले दिनुपर्ने उनको माग रह्यो।
उम्मेदवारले दुई महिलासहित विभिन्न पेशाका सफल उद्योगी व्यवसायीको १९ सदस्यीय जुझारु टिम निर्माण गरेको जानकारी दिँदै यस टिमका हरेक सदस्य भविष्यमा महासंघको नेतृत्व गर्न पूर्णतः सक्षम रहेको दाबी गरे। नेतृत्व विकासको प्रतिबद्धता स्वरुप आफू यही पदमा पुनः नउठ्ने घोषणा पनि उनले उसी मञ्चबाट गर्दै आगामी निर्वाचनमा आफ्नो टिमलाई मत दिई विजयी बनाउन उपस्थित सबैसँग हार्दिक अनुरोध गरे।