काठमाडौं। विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावना प्रस्तुत गरेको छ।
नोभेम्बर ४ देखि ६ तारिखसम्म बेलायतको एक्सेल लन्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाको सहभागिता छ। नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यावसायिक कम्पनी टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यम सहभागी छन्।
नेपालले मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथा प्रस्तुत गर्दै विश्व बजारमा लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसनको रूपमा पुनःस्थापित गर्ने लक्ष्य राखेको छ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको नेतृत्व बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गरिरहेका छन्।
अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै भने, ‘नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो। डब्ल्यूटीएम लन्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ र विश्व बजारमा नेपालको उपस्थितिलाई मजबुत पार्नेछ।’
अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै थपे, ‘नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीति र समुदाय–आधारित संरक्षण कार्यक्रमद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्छ।’
प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाललाई जीवनभर सम्झनलायक गन्तव्यको रुपमा पुनस्र्थापित गर्ने बताए।
उनले भने, ‘हामी नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित छौं। डब्ल्यूटीएम लन्डनमा सहभागिताले आगन्तुक आगमन वृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढीकरणमा निर्णायक भूमिका खेल्नेछ। डब्ल्यूटीएम लन्डन २०२५ मा विश्वका यात्रुलाई नेपाल पुनः खोज्न निम्तो दिन्छौं’, सीईओ जोशीले थपे, ‘यहाँ विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदाय एकै ठाउँ भेटिन्छन्।’
डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर एन–१२–५११)मा ‘प्रकृति, संस्कृति र संरक्षणमो मिलन हुन्छ’ नारा दिएर पविलियनमा नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवं आध्यात्मिक स्थल, साहसिक गतिविधि र सामुदायिक पर्यटन पहलका दृश्यात्मक र अन्तरक्रियात्मक प्रस्तुतीकरण भइरहेका छन्।
अवलोकन गर्न सक्नेछन्। बीटुबी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्य अवसर उपलब्ध हुने बोर्डले जनाएको छ।