काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९ ) सम्बन्धि बीमालेख जारी गरको छ । समितिले बिहीबार बीमालेख जारी गरी न्युनतम ३०० देखि १ हजार रुपैयाँसम्म बीमा शुल्क लिएर कोरोना भाइरस सम्बन्धि बीमा गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले घातक रोगहरु सरह बीमालेख हुने जानकारी दिएको छ । समितिले दुई श्रेणीमा बीमालेख जारी गर्न भनेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
उनका अनुसार व्यक्तिगत रुपमा बीमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ बीमा शुल्क तोकिएको छ । तर परिवारका सबै सदस्यहरुका बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ लाग्ने उनले बताए । यसले १ लाख रुपैयाँसम्मको बीमा कभरेज गर्ने छ ।
यस्तै दोस्रो अन्तर्गत बीमा शुल्क ५०० रुपैयाँ तोकिएको छ । जसअनुसार परिवारका सबै सदस्य सहभागी भएमा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन बीमा लेखमा उल्लेख छ । यो बीमालेखले ५० हजार रुपैयाँ कभरेज गर्ने उनले बताए ।
दावीका लागि बीमा सुरु भएका १५ दिनसम्म प्रतिक्षा अवधि रहेने पौडेलले जानकारी दिए । सो समय भन्दा अगावै वा कोरोना भाइरस भएको पुष्टि नभए नपाइने व्यवस्था बीमालेखमा गरिएको छ ।
पीसीआर प्रविधिबाट कोरोना भाइरस भएको पुष्टि हुनसाथ बीमाको दावी भुक्तानी गर्न पाइने व्यवस्था बीमा लेखमा छ ।
यसको व्यवस्था लघुवित्त बीमा अन्तर्गतका मौजुदा बीमा पुलबाट गरिने भएको छ ।
यसैगरी घुम्ति तथा कृषि बीमालेख जारीका लागि तोएिका जिल्लाहरुमा कार्यरत कम्पनीहरुले बीमालेख जारी गर्न समितिले निर्देशन दिएको छ ।
अहिलेसम्म १६ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भइसकेको छ । अझ धेरै संक्रमणको जोखिम रहेकोकाल विशेषत ग्रामिण क्षेत्रसम्म न्युन आय भएको मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न यस्तो बीमा गर्नु परेको बीमा समितिले जनाएको छ ।