काठमाडौं । सरकारले आगामी दिनमा तरलतामा चाप बढ्न र लगानी खुम्चिन नदिन बैंकहरुलाई वाह्य ऋण ल्याउनलाई थप खुकुलो बनाउने भएको छ । यस्तै विदेशी लगानी बढाउन पनि सरकारले नीतिगत रुपमा झन खुकुलो बनाउने भएको छ ।
कोरोना भाइरस महामारीले अर्थतन्त्रलाई संकुचन बनाएका बेला सरकारले नीतिगत सुधार गरेर थप लगानी ल्याउनका लागि खुला गर्न लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले वाह्य क्षेत्रबाट ऋण लिने प्रकृयामा नियमन थप सहज गर्न बताएका छन ।
उनले ऋण लिन प्रक्रियामा राखिएका केही प्रावधानहरुलाई हटाएर सहज बनाउने बताएका हुन । यस्तै बैदेशिक लगानीलाई खुकुलो बनाउने तर्फ पनि गृहकार्य भइरहेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन । उनले आगामी दिनमा वैदेशिक लगानी आवश्यक पर्ने भन्दै यसलाई भित्राउन थप सहज बनाउने स्पष्ट पारेका छन ।
विदेशबाट ऋण लिन झन्झट भइरहेको बैंकहरुले बताइरहेका बेला अर्थमन्त्री खतिवडाको यस्तो भनाई आएको हो । उनले वैदेशिक लगानीका लागि थप अनुकुल वातावरण बनाउन वैदेशिक लगानी ल्याउन सहज बनाइने बताएका हुन । उनले परिवर्तन हुन लागका बुँदाहरु भने खुलाएनन ।
निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने अर्थमन्त्री खतिवडाले बताएका छन । ‘निजी क्षेत्रलाई साथमा लिएर लगानीको वातावरण हामीले जति बनाएका छौं’ उनले भने ‘कोभिडले बिगारेको लगानीको वातावरणलाई सुधारेर धेरै काम निजी क्षेत्रबाट हुने गरी अघि बढायो भने सरकारको दायित्व पनि कम हुन्छ । त्यसकारण हाम्रो स्रोतहरुले पुग्ने हुन्छ ।’ उनले अहिले पुरक बजेट ल्याउन आवश्यक नभएको स्पष्टपारे ।
यो वर्ष पुँजीगत खर्च नभएकाले बजेट घाटा व्यवस्थापन गर्ने तहमा भए पनि राजश्व संकलन कमजोर हुने र खर्चको आकार बढ्ने देखिएकाले आगामी वर्ष थप चुनौतिपुर्ण रहको अर्थमन्त्रीले बताएका छन ।
अन्तर्राट्रिय मुद्रा कोषले र्यापिड फेसिलिटी दिन तयारी गरेको छ । नेपालले पाउने कोटाको शतप्रतिशत दिने कुरा चलिरहेको छ । विश्व बैंकले थप सहयोग दिने भनेको छ ।
स्वास्थ्य पुर्वाधारका लागि आवश्यक बजेट विश्व बैंकल दिने भनेको छ । यही कुरा एसियाली विकास बैंकले पनि गरेको उनले सुनाए । दातृनिकायले परिचालन गर्ने सहयोगका केही अंश पनि अर्को आर्थिक वर्षमा आउने भएको छ ।