काठमाडौं । साउनयता नेपाली रुपैयाँ डलरसंग १२ प्रतिशतले कमजोर भएको छ । असार मसान्तसम्म १ डलर बराबर १०९.३६ रुपैयाँ रहेकोमा त्यसपछि निरन्तर बढेर नयाँ रेकर्ड कायम भएको छ ।
डलरसंग नेपाली रुपैयाँ कमजोर भएर १२२.६१ रुपैयाँसम्म पुगेको छ । यद्यपी अहिले केही घटेर १२२.५३ पैसामा झरेको छ । १० महिनाको अवधिमा डलरसंग नेपाली मुद्रा १३ रुपैयाँ २५ पैसा कमजोर भएको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
भारतीय रिजर्व बैंक (आरबीआई) का अनुसार अहिले डलर महंगिएर भएर ७६.७४ भारु पुगेको छ । यो हालसम्मको उच्च अवमूल्यन हो । नेपाल र भारतबीच स्थिर विनिमयदर (फिक्सपेग) भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि पर्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो ।
अमेरिकी अर्थतन्त्र प्रतिको विश्वास बढेका कारण डलर मजवुत देखिएको नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । विश्व बजारमा तेलको माग ज्यादै न्युन भएपछि मूल्य घटेर तल्लो विन्दुमा आउँदा डलर मजवुत हुन पुगेको उनको भनाई छ ।
‘तेलको बढी खपत गर्ने भारत र चीनलगायत विश्व नै ठप्प भएको छ । तेलका माग नबढुन्जेलसम्म डलर माथिनै गइरन्छ’ उनले भने ‘कोरोना भाइरस संक्रमण महामारीले उद्योग व्यवसाय क्षेत्र बन्द हुँदा विश्वमा तेलका मागमा भारी कटौती भएको हो ।’
सन २००८ को विश्व आर्थिक मन्दीपछि अमेरिकाको अर्थतन्त्र कमजोर भएको थियो । सन २०१३ पछि लगानी अमेरिकातिर फिर्ता जान थालेको हो । भारत र चीनलगायत उदयीमान अर्थतन्त्रमा आएको लगानी पुनः अमेरिकातिर फर्केको उनले जानकारी दिए ।
एक महिनाकोबीचमा भारत र चीनलगायत उदयीमान मुलुकहरुबाट १०० अर्ब डलर लगानी पुन अमेरिकातिर गएको उनले सुनाए । कोरोना महामारीले उदयीमान अर्थतन्त्रको विश्वास घट्दा यसको असर विश्व बजारमा परेको भट्टको भनाई छ ।
रेमिट्यान्स आप्रवाह र पर्यटनबाट हुने आम्दानी घटेर उदयीमान अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिती कम हुने आँकलन लगानीकर्तामा भएकाले डलर लगानी अमेरिकातिर फर्किएको उनको भनाई छ । भारतबाट मात्रै ठुलो रकम अमेरिकतर्फ फिर्ता भएको जानकारी आएको उनले बताए ।
पछिल्लो समयमा भारतबाट ठुलो रकम अमेरिकामा फिर्ता भएपछि सञ्चिती घट्न गई भारु कमजोर भएको उनको भनाई छ । उनका अनुसार भारतमा विदेशी मुद्रा सञ्चिती घटेको छ ।
विश्व बजारमा तेलको भाउ बढ्दा डलर कमजोर हुने र घट्दा बलियो हुने प्रवृत्ति रहेको उनले जानकारी दिए । अहिले तेलको माग गर्ने भारत र चीनको अर्थतन्त्र कोरोना भाइरस महामारीले बन्द छ ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ । हाल मुलुक लकडाउनमा भएकाले निकासी बन्द छ । यस्तै विश्वव्यापी महामारीले रेमिट्यान्स आप्रवाह ठप्प छ । डलर बढ्दा पनि यी दुई क्षेत्रले लाभ लिन सक्ने अवस्था छैन ।
यसैगरी आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।