काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फागुन र चैतको बिजुली महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को चैत १६ को बैठकले उपभोक्ताहरुलाई विद्युत् महशुल तथा विलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको चैत २५ गते बसेकोको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो ।
मन्त्री पुनले अनलाइनबाट तिर्न सक्ने महसुल भुत्तानी गरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनिकरणमा सहयोग गरिदिन आग्रह गरेका छन ।
‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेको उनले सुनाए ।
‘ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाईन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ’, उनले भने ‘लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,।’
लकडाउनको विषम परिस्थितिमा ग्राहकवर्गलाई नियमित र भरपर्दो विद्युत् सेवाउपलब्ध गराउन हाम्रो टिम अहोरात्र खटिरहेको अवस्थामा दैनिक संचालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानीलगायतलाई रकम आवश्यक पर्ने उनले बताए ।
‘महसुल समयमा संकलन नहुँदा हाम्रो न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले यस्तो सम्भावित अवस्था आउन नदिन अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गर्दछु, ग्राहकवर्गले प्राधिकरणलाई गर्दै आउनु भएको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौं’ उनले भने ।
प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।
प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकहरुको चैत्र र वैशाखको विल फागुनको विलअनुसार नै गर्नेछ भने थ्रि फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भवभएसम्म मिटर रिडिङ गरेर वास्तविक विल गर्नेछ । सिंगल फेज ग्राहकहरुको यी महिनाहरुको विल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार विलमा मिलान गरिने छ ।
मन्त्रिपरिषद्को निर्णयकाआधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही बैशाखको विलको इनर्जी शुल्क (न्युनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
चैत्र महिनाको यस्तो छुट रकम विल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिनेछ ।