काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन्।
मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए। कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो।
फोरममा ‘डिजिटल’ र ‘एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई सत्र सञ्चालन भएका थिए।
सञ्चारमन्त्री खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताए।
नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको र राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको सन्दर्भमा थप ज्ञान, सीप र अनुभव हासिल गर्न फोरम सान्दर्भिक भएको उहाँले उल्लेख गरे।
समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारिताका विषयमा धारणा राखे। त्यस क्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)ले पनि नेपाललाई सहकार्य गर्ने र आपसी सझेदारिताका विषयमा पनि परामर्श भएको जनाइएको छ।
फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए।
दक्षिण कोरियामा रहँदा सञ्चारमन्त्री खरेलले सिओल एआई फाउन्डेसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरे। यस्तै, उनले सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गरे।