काठमाडौ । बीमा समितिले आईतबार देखि औपचारिक रुपमा कोरोनो भाईरस (कोभिड १९) रोग बिमालेख जारी गरेको छ । समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् । बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।
बिमितहरुले ५० हजार र १ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सक्नेछन् । १ लाख रुपैयाँसम्मको बिमालेख अन्र्तगत कम्पनीहरुले बिमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकम बराबरको बिमा गर्दा प्रति व्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । तर, बिमा भएको १५ दिन पछि मात्रै दाबी गर्न सकिनेछ । लघुबिमा मार्फत कम्पनीहरुले यो बिमालेख जारी गर्न पाउँनेछन् । कृषि बिमा र घुम्ती बिमा लागि तोकिएको जिल्लाहरुमा कार्यरत बिमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यन्वयन गर्न समितिले निर्देशन दिएको छ ।
अनलाइनबाट लिन सकिन्छ बीमा पोलिसी
बीमा कम्पनीहरुको अनलाइन एप्स तथा कुनै पनि शाखाबाट कोरोना बीमा खरिद गर्न सकिन्छ । कम्पनीहरुले पनि अनलाईनबाटै पोलिसीको कन्फर्मेशन दिन्छन् । यसरी जारी हुने कोरोना बीमा पोलिसी हालसम्मकै सहज रहेको बीमा समितिको भनाई छ ।
कुन जिल्ला कस्को जिम्मा ?
समितिका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको जिम्मा पाएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाममा कोरोनो बीमाको जिम्मा पाएको छ ।
एभरेष्ट इन्स्योरेन्सले कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्स्योरेन्सले मुगु, जाजरकोट र हुम्ला, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्सले मनाङ, कास्की, पाल्पा र रुपन्देहीमा कोरोना इन्स्योरेन्स गर्ने जिम्मा समितिले दिएको छ ।
प्रुडिन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियम इन्स्योरेनसले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा बीमा गर्ने जिम्मा पाएको छ ।
आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्सले भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरियन्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा जिम्मा पाएको छ ।
सानिमा इन्स्योरेनसले कपिलबस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्सले रसुवा,सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटमा कोरोना बीमा गर्ने जिम्मा पाएको छ । काठमाडौ र भक्तपुरमा भने सबै कम्पनीले कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ ।