काठमाडौं । नाफामा गम्भीर धक्का लाग्ने भन्दै वाणिज्य बैंकहरुले ऋणीलाई १० प्रतिशत छुट दिन आनाकानी गरेका छन् । नेपाल राष्ट्र बैंकले चैत मसान्तमा ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिने गरी निर्देशन ल्याए पनि बैंकहरु ऋणीलाई सुविधा उपलब्ध गराउन अटेर गरिरहेका छन् ।
केन्द्रीय बैंकले चैत मसान्तमा ब्याज तिर्न नसक्ने ऋणीलाई असारसम्म समयसीमा पनि पुर्याएको थियो । चैतमा ब्याज बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिन सर्कुलर ल्याएको थियो । तर, अहिले बैकहरुले राष्ट्र बैंकको थप ‘क्लियरिफिकेन’ नआएको भन्दै छुट दिन नसकिएको बताएका हुन ।
राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सकुर्लरमा एकदमै प्रष्ट रुपमा लेखिएकाले कुनै बैंकले कुनै पनि बहाना गर्न नमिल्ने बताए । ‘सर्कुलरमा प्रष्ट रुपमा लेखिएको छ,’ उनले भने, ‘यदि कुनै बैंकले १० प्रतिशत छुट दिन आनाकानी गरेमा उनीहरुमाथि कारबाही गर्छौ ।’
व्यवसायीले १० प्रतिशत छुट पाउनुपर्ने भन्दै बैंकलाई कुरा गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) हरुले राष्ट्र बैंकबाट थप क्लियरिफिकेसन नआएकाले दिन अप्ठयारो परेको भन्दै फर्काउने गरेका छन् ।
‘बैंकले आफूले लिने बेला खातामा भएको पैसा तान्यो । तर, केन्द्रीय बैंकले दिएको सुविधा दिने बेलामा विभिन्न बहाना देखाएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश न ३ का संयोजक दिनेश श्रेष्ठले भने, ‘कुनै पनि व्यवसायीलाई बैंकले अहिलेसम्म १० प्रतिशत छुट दिएका छैनन् ।’
मेनुअल रुपमा दिनुपर्ने भएकाले केन्द्रीय बैंकको थप निर्देशन आवश्यक भएको बैंकहरुले उद्योगीलाई जवाफ दिने गरेका छन् । नियामक निकायमाथि बैंकरहरु हावी भएका कारण केन्द्रीय बैंकले ल्याएको निर्देशनसमेत कार्यान्वयन हुन छाडेको श्रेष्ठले जानकारी दिए ।
‘नियमन कार्यान्वयन नभएपछि बैंकमाथि तत्काल एक्सन लिने आँट भएको बैंकहरुले पनि डराएर नियमलाई लागू गर्थे,’ उनले भने, ‘नियमक निकाय नै छैन जस्तो भइसकेको छ ।’
‘अहिले सम्पूर्ण बैंकलाई अर्बको क्लबमा पर्नु छ । देशमा संकट आओस्, कि विपद् नै परोस्,’ उनले भने, ‘अहिले १० प्रतिशत छुट दिने बित्तिकै अर्बको क्लबमा नपरिएला भन्ने चिन्ता उनीहरुलाई छ ।’
कार्यकारी निर्देशक ढकालले छुट नदिने बैंकमाथि आवश्यक अनुसन्धान गरेर कारबाही गर्ने बताए । ‘नियामक निकायले ल्याएको निर्देशन नमान्ने वा मान्दिन भन्ने अधिकार कसैलाई पनि हुँदैन,’ उनले भने ।
यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले साधारण निक्षेपमा दिने ब्याज घटाएका छन । कर्जाको घटाउन आनाकानी गरिरहेका छन । बैंकहरुले जेठदेखि कर्जाको ब्याज १ प्रतिशत विन्दु घटाउने बताए पनि कार्यान्वयन हुनेमा शंका छ ।