काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज ‘ब्रेक डे’ रहेको छ। लगातारको खेलपछि खेलाडीलाई आराम दिइएको क्यानले जनाएको हो।
आइतबार भएको १९ औं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले हराएसँगै अंक तालिका रोचक बनेको छ।
अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाडौंले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर दोस्रो स्थानमा छ।
चितवन र लुम्बिनीको समान चार अंक छ। लुम्बिनीले पाँच खेल खेलिसकेको छ भने चितवनले चार खेल मात्र खेलेको छ। रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ। कर्णाली र पोखराको दुईदुई अंक छ। तालिकामा कर्णाली छैटौं र पोखरा सातौं स्थानमा छन् भने पुछारमा रहेको जनकपुर अंकबिहीन छ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। मंसिर १ देखि सुरु भएको एनपीएल २७ सम्म सञ्चालन हुनेछ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।
सोमबारका लागि ब्रेक लिएको एनपीएलमा मंगलबार दुई खेल हुँदै छन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा पोखरा र कर्णाली भिड्नेछन्।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।