काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनको साढे २ अर्बको ऋणपत्र ‘नेगेटिभ वाच’ बाट मुक्त भएको छ। बैंकद्वारा जारी ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘नकारात्मक प्रभाव पर्न सक्ने’ निगरानीको सूचीबाट हटाएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था र बजारको वस्तुस्थितिलाई सूक्ष्म विश्लेषण गर्दै इक्राले बैंकको साखलाई अब स्थिर दिशातर्फ अघि बढेको संकेत प्रदान गरिएको उल्लेख गरेको छ।
यद्यपि इक्राले ऋणपत्र र इस्युअर रेटिङमा केही समायोजन गरेको छ। बैंकको पछिल्लो वित्तीय अवस्था र बजारको वस्तुस्थितिलाई सूक्ष्म विश्लेषण गर्दै इक्राले यसअघिको इस्युआरमा दिएको ‘ट्रिपल बी प्लस’ रेटिङ समायोजन गरेर ‘ट्रिपल बी’ र ऋणपत्रको ‘एल ट्रिपल बी’ लाई ‘एल ट्रिपल बी’ मा राखेर वाच लिष्ट सूचीबाट भने हटाएको हो। उक्त सूचीबाट हटाउनुको कारणमा बैंकले अनिश्चितताका बीचमा पनि व्यावसायिक स्थिरता कायम गर्न सफलतालाई रिपोर्टमा उल्लेख गरिएको छ।
यी रेटिङहरूले बैंकसँग आफ्ना वित्तीय दायित्वहरू पूरा गर्न पर्याप्त क्षमता रहेको र लगानीको सुरक्षामा मध्यमस्तरको विश्वसनीयता कायम रहेको स्प्रष्ट पार्छन्। ‘एल ट्रिपल बी’ रेटिङ पाउनुको अर्थ बैंकसँग आफ्ना ऋणपत्रका लगानीकर्ताहरूलाई समयमै प्रतिफल र सावाँ फिर्ता गर्न सक्ने मध्यमस्तरको पर्याप्त क्षमता छ भन्ने हो। रेटिङ एजेन्सीले नेगेटिभ वाचबाट हटाउनुको मुख्य कारण बैंकले विषम आर्थिक परिस्थितिमा पनि आफ्नो नगद प्रवाह र तरलतालाई सन्तुलनमा राख्न सक्नु नै हो। १०.२५ प्रतिशतको आकर्षक ब्याजदर रहेको यो ऋणपत्रले दीर्घकालीन लगानी गर्नेहरूका लागि अझै पनि एक भरपर्दो विकल्पको रूपमा आफूलाई प्रस्तुत गरेको छ। बैंकको कुल सम्पत्ति २ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ पुग्नु र तरलता अनुपात २६.५७ प्रतिशत रहनुले ऋणपत्रको सुरक्षामा बलियो आधार प्रदान गरेको रिपोर्टमा उल्लेख छ।
सिटिजन्स बैंकको सबैभन्दा ठूलो सबल पक्ष यसको विस्तृत बजार पहुँच र अनुभवी नेतृत्व टोली हो। सन् २००७ देखि सञ्चालनमा रहेको यस बैंकले १७ वर्षको अवधिमा आफूलाई एक परिपक्व संस्थाको रूपमा स्थापित गरेको छ। देशभर फैलिएका २ सय वटा शाखाहरू, ३ वटा एक्स्टेन्सन काउन्टर र १६८ वटा एटिएमले बैंकको उपस्थितिलाई देशका हरेक कुनामा पुर्याएका छन्। यो विशाल सञ्जालले गर्दा बैंकलाई निक्षेप संकलनमा कुनै ठूलो झट्का लाग्ने देखिँदैन। बैंकको निक्षेपको संरचना निकै विविधीकृत छ। बैंकमा शीर्ष २० निक्षेपकर्ताहरूको हिस्सा मात्र १५ प्रतिशत रहेको छ। यसले बैंकको निक्षेप सानो–सानो आकारमा धेरै निक्षेपकर्ताहरूमा छरिएको प्रष्ट पार्छ। जसले वित्तीय स्थिरतामा ठूलो सहयोग पुर्याउँछ।
इक्राको रेटिङ रिपोर्टअनुसार, वित्तीय सूचकहरूलाई हेर्दा बैंकको कर्जा प्रवाहको प्रकृति पनि जोखिम कम गर्ने खालको छ। बैंकले आफ्नो कुल कर्जाको करिब ४५ प्रतिशत हिस्सा रिटेल, साना तथा मझौला व्यवसाय (एसएमई) र विपन्न वर्ग कर्जामा केन्द्रित गरेको छ। यो रणनीतिले बैंकलाई ठूला ऋणीहरूको सम्भावित डिफल्टबाट जोगाउन मद्दत गर्छ। चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा बैंकले ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जसले बैंकको कोर बैंकिङ व्यवसाय अझै पनि नाफामूलक रहेको देखाउँछ। नाफामा केही संकुचन आए पनि बैंकले आफ्नो आधार दर र लागतलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ, जसले आगामी दिनमा नाफामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
लगानीकर्ता र संस्थागत सुशासनको पाटोमा पनि सिटिजन्स बैंक निकै अगाडि छ। बैंकमा प्रबद्र्धक र सर्वसाधारणको सेयर हिस्सा ५१ः४९ को सन्तुलित अनुपातमा छ। विशेषगरी सरकारी स्वामित्वको नागरिक लगानी कोषको ३.३५ प्रतिशत सेयर लगानी रहनुले बैंकको संस्थागत सुशासन र पारदर्शीतामा थप विश्वास दिलाउँने रिपोर्टमा उल्लेख छ। अनुभवी बैंकरहरू र प्रतिष्ठित व्यावसायिक घरानाका व्यक्तिहरू सम्मिलित सञ्चालक समितिले बैंकलाई दीर्घकालीन व्यावसायिक रणनीतिहरू कार्यान्वयन गर्न मार्गनिर्देश गरिरहेको छ।
यद्यपि, समग्र बैंकिङ क्षेत्र जस्तै सिटिजन्स बैंकका अगाडि पनि खराब कर्जा (एनपिएल) व्यवस्थापनको चुनौती विद्यमान छ। बैंकको खराब कर्जा ६.८६ प्रतिशत पुगेको भए पनि बैंकले असुली प्रक्रियालाई निकै आक्रामक रूपमा अघि बढाएको छ। समीक्षा अवधिमा बैंकको पुँजीकोष अनुपात १२.४३ प्रतिशत रहनुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि नै रहेको देखाउँछ, जसले थप कर्जा विस्तार र जोखिम व्यवस्थापनका लागि पर्याप्त ठाउँ दिएको छ। बैंकको प्राथमिक पुँजी ८.६९ प्रतिशत हुनुले केही दबाब भएपनि आन्तरिक नाफा र कर्जा व्यवस्थापनबाट यसलाई थप मजबुत बनाउन सकिने अवसर बैंकसँग छ।