काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिका लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रुपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अपांगता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्।
सन्देशमा प्रधानमन्त्रीले अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताइन्।
अपांगता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपांगताको गाम्भीर्यका आधारमा अपांगता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपांगता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गरेकी छन्।
अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोध हटाई सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आवश्यक भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
ऋपांगता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपांगता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेकी छन्।