काठमाडौं। घण्टौं जाम हुने काठमाडौंको कोटेश्वरमा ३१.७६ अर्बको ‘मेगा प्रोजेक्ट’मार्फत सुरुङमार्ग र फ्लाइओभरको विस्तृत परियोजना बन्ने भएको छ। नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध हुने भएसँगै यो क्षेत्रमा ‘मेगा प्रोजेक्ट’मार्फत सुरुङमार्ग र फ्लाइओभरको विस्तृत परियोजना बन्ने भएको हो।
सरकारले सुरुङमार्ग र फ्लाइओभर बन्ने ऋण प्राप्त गरेसँगै ‘मेगा प्रोजेक्ट’को इन्जिनियरिङ डिजाइन, नक्सा पासलगायत विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरिने सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए। यो प्रक्रिया पूरा हुन ८ देखि ९ महिना लाग्न सक्छ। ‘डीपीआर तयार गर्न एकदेखि डेढ वर्ष समय लाग्न सक्छ,’ उनले भने, ‘विस्तृत डिजाइनल तयार भएपछि मात्र निर्माणका लागि निर्माण व्यवसायी छनोट गरिने छ। जुन अर्को लामो प्रक्रिया हो।’
‘मेगा प्रोजेक्ट’को यी चरण पूरा भएर निर्माण सुरु हुन समय लाग्ने छ। अहिलेको मितिबाट गणना हुँदा आयोजना पूरा हुन ६ देखि ७ वर्ष लाग्न सक्ने अनुमान इन्जिनियर पौडेलको छ। यद्यपि, यो समयसीमामा वातावरणीय अध्ययन वा अन्य प्रशासनिक ढिलाइले थप समय लाग्न सक्ने देखिन्छ।
काठमाडौं उपत्यकाको अत्यधिक जाम हुनेमध्ये कोटेश्वर चोकमा प्रस्तावित रिपोर्टअनुसार सुरुङमार्ग (कट एन्ड कभर) र दुई वटा फ्लाइओभर निर्माण हुनेछ। प्रस्तावित यो परियोजनाको कुल लम्बाई करिब एक हजार ८१६ मिटर हुनेछ। यसमा सवारी साधन प्रवेश गर्ने र बाहिरिने एप्रोच सडकसमेत समावेश गरिने छन्। तर, ऋण सम्झौता भइसकेपछि लागतअनुसार डिजाइनमा केही फेरबदल हुनु सक्ने छ।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पौडेलका अनुसार ७५९ मिटर लामो यो फ्लाइओभरमा छिर्ने र निस्किने एप्रोच सडकहरू पनि समावेश हुने छन्। परियोजनाको मुख्य अंशका रूपमा सात सय मिटर लामो सुरुङमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ।
नागढुंगा सुरुङमार्गपछिकोे मेगा प्रोजेक्टका रूपमा हेरिएको यो योजना कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउने एक माध्यम हो।
यो क्षेत्रमा निर्माण गरिने फ्लाइओभर र त्यसका एप्रोच सडकहरूको लम्बाई ३५७ मिटर हुने छ। तर, यो डिजाइनमा लागतअनुसार फेरबदल आउन सक्ने पौडेलको भनाइ छ। ‘मेगा प्रोजेक्ट’मा जडीबुटीदेखि तीनकुनेसम्म फैलिएको यो सुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गामुनिबाट जाने छ। यसमा सुरुङभित्र छिर्ने र बाहिर निस्किने बाटाहरू पनि जोडिने छन्।
नागढुंगा सुरुङमार्गपछिकोे मेगा प्रोजेक्टका रूपमा हेरिएको यो योजना कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउने एक माध्यम हो। सडक विभागका अनुसार काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र कोटेश्वर हो। यो चोक काठमाडौं, ललितपुर र भक्तपुरलगायत तीन जिल्लालाई जोड्ने मुख्य विन्दु हो।
साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने मुख्य मार्ग, अरनिको राजमार्ग, बीपी राजमार्गलगायत पूर्वी जिल्लामा जाने आउने सवारी साधनको चापका कारण यहाँ दैनिक घण्टौं जाम हुने गरेको छ। नयाँ संरचनाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रदान गर्दै घण्टौंको जामबाट मुक्ति दिने देखिन्छ।
तर, सडक पूर्वाधारको विकासमा ठूलो धनराशी खर्च भइरहँदा पनि ट्राफिक जामको समस्या ‘ज्यूँका त्यूँ’ रहनुले लगानीको प्राथमिकतामाथि गम्भीर प्रश्न उठेको छ। विशेष गरी जक्सन सुधार गर्नका लागि मात्रै ३०÷४० अर्ब जति ठूलो रकम खर्चिनु दीर्घकालमा प्रभावकारी नहुने यातायात विज्ञ अषिश जगुरेल बताउँछन्।
‘एउटा जक्सन सुधार गर्नका लागि ३० देखि ४० अर्ब लगाउन थाल्यौँ भने हामी कही पनि पुग्नेवाला छैनौँ,’ उनले भने, ‘सुधार त गर्नुपर्छ, तर मुख्य कुरा हाम्रो प्राथमिकता सडक पूर्वाधारलाई चौडा बनाउने, फ्लाइओभर बनाउनेभन्दा सवारी संख्या सडकमा कसरी घटाउने भन्ने हुनुपर्यो।’
जगुरेलले काठमाडौंको रिङ रोडको उदाहरण दिँदै भने, ‘पहिले दुई लेनको सडक आज ८ लेनको भइसक्दा पनि जामको समस्या उस्तै छ। यसले के देखाउँछ भने, केवल भौतिक पूर्वाधारमा मात्रै लगानी गरेर खोजेको यातायात व्यवस्थापन र सुरक्षा प्राप्त गर्न सकिँदैन।’
आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिने छ।
फ्लाइओभर, अन्डरपास र सुरुङमार्ग जस्ता पूर्वाधार निर्माणमा मात्र ठूलो लगानी केन्द्रित गर्दा सार्वजनिक यातायातको क्षेत्र उपेक्षित बनेको छ। सार्वजनिक यातायातको सुधार ट्राफिक जामको दीर्घकालीन समाधान भएको उनको तर्क छ। ‘लगानी सार्वजनिक यातायात व्यवस्थापनमा गर्नुपर्छ। हामी फ्लाइओभर, यस्ता वन्डरपास, सुरुङ मार्ग बनाएर सार्वजनिक यातायातमा लगानी गर्न नसक्दाखेरि फेरि सवारी बढ्ने जामको समस्या उस्तै हुन्छ। पूर्वाधारमा मात्र लगानी गर्नु दीर्घकालीन समस्याको समाधान नरहेको नीति निर्माताहरूले बुझ्नु पर्ने उनको तर्क छ। सडकको क्षमता बढाउनुको सट्टा सार्वजनिक यातायातको गुणस्तर बढाएर निजी सवारीको चाप घटाउनु आवश्यकता देखिन्छ।
आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिने छ। जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारी साधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने बताएका छन्।
कार्यक्रममा जापानी राजदूत मायदाले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरेका छन्।
जाइकामार्फत प्राप्त हुने सो ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने गरी बुधबार अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।